न्यु डाइमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

चैत्र ७, २०८२ |खेल ब्युरो
न्यु डाइमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

हेटौंडा । न्यु डाइमन्ड स्पोर्ट्स क्लब हेटौंडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगताको सेमिफाइनल खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै न्यु डाइमन्ड फाइनलमा प्रवेश गरेको हो । 

जारी प्रतियोगितामा न्यु डाइमन्ड अपराजित छ । न्यु डायमन्डले जनशक्ति युवा क्लबलाई २५-१०, २५-१४ र २५-१८ को सेटले पराजित गरेको हो । यस्तै, स्टेप भलिबल क्लब पाल्पा र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानबीचको सेमीफाइनल खेल वर्षाका कारण प्रभावित हुन पुग्यो । 

यो खेल आइतबार बिहान ८ बजे खेलिने आयोजकले जनाएका छन् । फाइनल खेल आइतबार दिउँसो १ बजे हुने छ । प्रतियोगिताका उपाधि विजेता टिमले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।