
काभ्रे । जिल्ला काभ्रेपलाञ्चोकअन्तर्गत पर्ने बीपी राजमार्गमा अविरल वर्षासँगै आएको पहिरो र खोलामा बढेको पानीको बहावका कारण पटक-पटक अवरोध हुँदै आएको छ।
शनिबार बिहान करिब रोशी गाउँपालिकाको चारसय बेसी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रका सडक खण्डमा रोशी खोलाको पानी सडकमा पस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। यसअघि पनि विभिन्न स्थानमा पहिरो खस्नु, ढुंगा झर्नु तथा सडक चिप्लो बन्नुका कारण सवारी आवागमन प्रभावित बनेको थियो।
सम्बन्धित निकायले अवरूद्ध खण्डहरूमा मर्मत तथा सफाइ कार्य गरेपछि केही समयका लागि राजमार्ग दुईतर्फी सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको छ। हाल पनि राजमार्गका धेरै स्थानमा सडक कमजोर, चिप्लो तथा साँघुरा खण्डहरूमा ढुंगा खस्ने जोखिम उच्च रहेको छ।
लगातारको वर्षाका कारण खोलामा पानीको बहाव घट्न नसक्दा पुनः अवरोध हुने सम्भावना रहेको छ। लामो समयसम्म जाममा परेका तथा अलपत्र यात्रुहरू जोखिम मोलेरै गन्तव्यतर्फ अघि बढिरहेका छन्। सम्बन्धित निकायले सडक खुलाउने कार्य जारी राखेको जनाएको छ भने यात्रु तथा सवारी चालकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
यदि यात्रा गर्नु नै परेमा सवारीको गति नियन्त्रणमा राख्न, सुरक्षित दूरी कायम गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। प्रशासनले यात्रा अघि सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ।