काठमाडौं । सुधारिएको दाबी गरेको नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने बाटोमा छ।
यदि केन्द्रीय समितिले राजीनामा फिर्ता गरिदियो भने शुक्रबार खाली राखिएको कुर्सी सम्भवत: आउने बैठकहरूमा खाली हुने छैन। तर, राजीनामा बुझाएर उपस्थित नै हुन छोडेका सभापति बोकेर कांग्रेस कसरी अघि बढ्छ ? हेरौं यो समाचार टिप्पणी।
राजीनामाको अर्थ हुन्छ – राजी भएर, खुसी भएर नामसारी गरिदिने, कागज गरिदिने । कुनै संघ संगठन वा संस्थाभित्रको हकमा राजीनामाको अर्थ हुन्छ– राजीखुसी बहाल रहेको पद र जिम्मेवारी त्याग गर्ने । कुनै व्यक्तिले यसरी आफ्नो इच्छामुताबिक राजीनामा गरिसकेपछि सामान्यत: त्यसलाई कसैले अस्वीकार गर्न सक्दैन, अस्वीकार गर्दैन।
यो प्राविधिकसँगै व्यवहारिक कुरा हो। कसैले राजीनामा बुझाउनुको अर्थ अब उसले हात उठाइसकेको छ, कम्तिमा हालका लागि उसले पद र भूमिका त्यागिसकेको छ। अब सम्बन्धित समूह वा संस्थाले त्यसलाई मान्नुपर्यो, स्वीकार गर्नुपर्यो। हुने यहि हो ।
मानौं कि सुविचारित रूपमा कसैले राजीनामा पत्र लेख्यो, बुझाउनुपर्ने निकायमा पनि बुझाइसक्यो। हाजिर हुनुपर्ने स्थानमा उसको उपस्थितिसमेत हुन छोड्यो। र, हठात् त्यस्तो राजीनामा अस्वीकृत भयो। त्यस्तो अवस्थामा अब राजीनामा गर्ने व्यक्तिको पुनरावृत्ति फेरि कुन नैतिक उर्जाका साथ त्याग गरिसकेको भूमिकामा हुन सक्छ ? अनि यस्तो कहाँ हन्छ ?
सुधारिएको भनिएको नेपाली कांग्रेसमा त्यस्तो छैन। राजीनामा बुझाएका सभापति गगन थापा केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभएन। कुर्सी नै खाली राख्नुपर्यो। यसको अर्थ हो, उहाँ अब जिम्मेवारीबाट अलग हुन चाहनुहुन्छ। केन्द्रीय समितिले भने 'होइन सभापतिज्यू, तपाईँविना पार्टी कसरी चल्छ?' भन्ने शैलीमा फेरि थापालाई कुर्सीमा बसाउन चाह्यो।
सभापति थापाका लागि यो अवसर थियो – आफैंले वकालत गर्दै आएको राजनीतिक संस्कारलाई जबरजस्त स्थापित गर्ने। पार्टी र नेतृत्वलाई त्यसरी नै सुसंस्कृत अघि बढाउने। सभापति पदबाट राजीनामा गर्दैमा थापाको न राजनीति सकिन्छ, न पार्टी नै सकिन्छ। बरू यो अभ्यासले थापाको राजनीतिक उचाइ थप उँचो हुन सक्थ्यो।
विशेष महाधिवेशन हुँदै नेतृत्वमा थापाको हस्तक्षेपलाई समग्र राजनीतिक वृत्तले प्रंशसा गरेकै हो। तर, त्यो पर्याप्त भएन, यसपटक मतदाताले त्यहि भने। तर, त्यसको जिम्मेवारी भने पार्टी पंक्तिसँगै सभापतिका नाताले थापाले लिनुपर्छ नै। विडम्बना, नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति स्वयं थापा र उपसभापति विश्वप्रकाश शर्माले चयन गरेका हुन्।
हो, गगन थापाले कांग्रेस रुपान्तरणको अभियानको नेतृत्व गरेकै हुन्। त्यसमा आंशिक सफलता प्राप्त गरेकै हुन् । तर, पूर्वसभापति शेरबहादुर देउवाको मुहार सुधारिएको कांग्रेसले अस्वीकार गरेजस्तै गगनको गर्जन मतदाताले पनि सुन्न नचाहेका हुन् । तर, उपसभापति विश्वप्रकाश शर्माले भने, ५० दिनमा आफूहरूको आवाज जनतासम्म पुगेन भनेर ढाकछोप गरेका छन् ।
यसो भन्नुको अर्थ हो, आवाज त जनताले चाहे भने ५ महिनाअघि मात्र खुलेको दलको पनि सुन्दा रहेछन् । एकैपटक राष्ट्रिय दल बनाइदिएर । श्रम संस्कृति पार्टी साक्षी छ। विश्वप्रकाशहरूले गगनको राजीनामालाई अन्त्य होइन, सुरूआत मान्न सक्थे । नवीन कांग्रेस खोज्ने हो भने, गगनको राजीनामा नवीन र नैतिक अध्यायको प्रस्थानबिन्दु हुनसक्थ्यो ।
अझै भन्ने हो भने, गगनहरूको संघर्षले पुस्तान्तरण ल्यायो, निर्वाचनले अघि सारेको कांग्रेसकै नविन पुस्ताले रूपान्तरण अघि बढाउन सक्थे। हाललाई त्यो स्थगित भएको छ, कमसेकम हाललाई। निर्वाचनमा पराजयपछि धेरैले टिप्पणी गरेका थिए – गगनलाई वरिपरिका सल्लाहकारले डुबाए, नेपाली कांग्रेसको रूपान्तरणलाई गगन थापाकै समर्थक र कार्यकर्ताले सिध्याउन सक्छन्।
राजीनामा दिएका सभापतिलाई काँधमा बोकेर कांग्रेस कसरी धुलो टक्ट्याउँदै उठ्ला ?