परम्परागत सीपबाट विश्वबजारसम्म पुग्यो कटहरेको खुकुरी

जेष्ठ २७, २०८३ |विनोद घिमिरे
परम्परागत सीपबाट विश्वबजारसम्म पुग्यो कटहरेको खुकुरी

धनकुटा । जीवन निर्वाहका लागि पुस्तौंदेखि परम्परागत धातुजन्य हस्तकलामा आबद्ध धनकुटाको पाख्रीबास नगरपालिका ५ स्थित घोर्लिखर्कको कटहरे गाउँ आफ्नै पौरखले नयाँ परिचय निर्माण गर्दैछ । 

कुनै समय विपन्न र पिछडिएको यो गाउँ परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्दै आर्थिक समृद्धिको नयाँ यात्रामा अघि बढिरहेको छ । गाउँघरका लागि फाली, हासिया र कोदालोजस्ता कृषि औजार निर्माण गरी न्यून प्रतिफलमा जीविकोपार्जन गर्ने यहाँका शिल्पीले उत्पादन गरेका खुकुरीलगायतका औजार अहिले विदेशसम्म पुग्न थालेका छन् ।

भोजपुर, खोटाङ र संखुवासभाको प्रवेशद्वार मानिने धनकुटाको पाख्रीबासस्थित घोर्लिखर्कको कटहरे गाउँ। खडेरीका कारण जेठ महिना बित्न लाग्दासमेत बारीमा घोप्ट्याइएका मलका थुप्रा त्यतिकै छन् । लामो समयदेखि पानी नपर्दा स्थानीयले मकै छर्न पाएका छैनन् । 

कतैकतै उम्रिएका मकैका बिरुवासमेत सुक्न थालेका छन् । यही दृश्यले सहजै अनुमान गर्न सकिन्छ कि, सडक नपुगेको र व्यवसायिक सीप तथा अवसर सीमित रहेको विगतमा यहाँका स्थानीयले जीवन धान्न कति दुःख गर्नुपथ्र्यो होला ? तर, अहिले समय फेरिएको छ । 

खडेरीले बारीका मकै सुकाए पनि स्थानीयले परम्परागत आरनलाई समयानुकूल परिमार्जन गर्दै आधुनिक कारखानाको रूप दिएका छन् । एक समय दाताले बनाइदिएको सामूहिक आरनघरमा पालो पर्खेर काम उनीहरु आज घरघरमै औजार बनाउने आधुनिक उपकरण चलाइरहेका छन् । 

स्थानीयले उत्पादन गर्ने खुकुरीलगायत घरेलु औजार उत्पादन र बिक्रीबाट हुने आम्दानीले स्थानीयको जीवनयापन सहज बन्दै गएको छ । विगतमा सुख्खा, रुखो वातावरण, गरिबी र छुवाछुतको पीडाले थिचिएको यो बस्ती आज पूर्वी नेपालको प्रमुख खुकुरी उत्पादन केन्द्रका रूपमा परिचित बनेको छ । 

यहाँ निर्मित खुकुरी स्थानीय बजारमा मात्र होइन, अर्डरअनुसार विदेशसम्म निर्यात हुन थालेका छन् । खुकुरीको गुणस्तर, आकार र डिजाइनअनुसार यसको मूल्य सामान्यतया १ हजार ५ सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म पर्छ ।

कटहरेका एक परिवारले वार्षिक चार सय वटासम्म खुकुरी उत्पादन गरी बिक्री गर्दै आएको स्थानीय बताउँछन्। खुकुरी बनाउाने परम्परागत पेसा अहिले व्यावसायीक उद्योगमा रूपान्तरित हुँदै गएको छ। पेसाले व्यावसायीक रूप लिएसँगै पुस्तौँदेखि चल्दै आएको बालीघरे प्रथासमेत अन्त्य भएको छ । 

बस्तीका अधिकांश घरमा आफ्नै खुकुरी उत्पादन उद्योग सञ्चालनमा छन् । पेसामा बाजेदेखि नाति पुस्ता संलग्न छ । खुकुरी उद्योगले कटहरेबासीको आम्दानी र गाउँको स्वरूप नै बदलिदिएको छ । फुसका छाना र टाँटीका घरले भरिएको बस्ती अहिले जस्तापाताले ढाकिएको छ । 

पहिले बालबालिकाका लागि विद्यालय जानुभन्दा परिवारको जीविकोपार्जनमा सघाउनु पहिलो आवश्यकता थियो । अहिले भने गाउँका अधिकांश बालबालिका नियमित रूपमा विद्यालय जान्छन् । उद्योगले घरमै रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम पनि घटेको छ । 

विदेशबाट फर्किएका युवा गाउँमै आरन सञ्चालन गरेर आत्मनिर्भर बन्न थालेका छन्। कटहरेको विकासमा सडक पूर्वाधारको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। मध्यपहाडी राजमार्गअन्तर्गत हिले-पाख्रीबास-लेगुवा खण्ड कालोपत्रे भएपछि यो गाउँले काँचुली फेर्ने मौका पायो । 

खुकुरीको बढ्दो बजारले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन मद्दत गरेको छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।