
काठमाडौं । इजरायलले इरानसँगै लेबनानमा पनि आक्रमण बढाएको छ ।
बुधबार मध्य बेरूतमा इजरायलले गरेको आक्रमणमा २० जना मारिनुका साथै दर्जनौं घाइते भएका छन् । मध्य बेरूत खाली गर्न चेतावनी दिएलगत्तै इजरायलले आक्रमण गरेको हो । इजरायलले मध्य बेरूतसहित देशका विभिन्न क्षेत्रमा आक्रमण बढाएको छ भने दक्षिणी लेबनानका बासिन्दालाई पनि सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।
यता इरानमा पनि इजरायलले शीर्ष सुरक्षा अधिकारी लक्षित आक्रमण जारी राखेको छ । मंगलबार राति गरेको आक्रमणमा इरानमा गुप्तचर मन्त्री इस्माइल खातिब मारिएका छन् । यस्तै, इरानको दक्षिणी पार्सस्थित विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमा पनि हवाई आक्रमण भएको छ ।
उक्त क्षेत्रलाई कतार र इरानले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन् । अमेरिकाले पनि हर्मुज जलमार्गस्थित इरानी मिसाइल स्थलहरूमा आक्रमण गरेको छ । यता इरानले पनि यूएई, कतार, कुवेत र साउदी अरेबियामा मिसाइल प्रहार जारी राखेको छ ।
साउदी अरेबियाले दुईवटा ड्रोन खसालेको जनाएको छ । इराकको बगदादस्थित अमेरिकी दूतावासनजिकै पनि विस्फोट भएको छ । इजरायलको तेल अभिभमा इरानले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।