गोरखा । निर्माण व्यवसायीले समयमै काम नगर्दा देशभर विभिन्न आयोजना अलपत्र परेका छन् ।
निर्माण कम्पनीको ढिलासुस्ती र सरकारी निकायको बेवास्ताका कारण यस्तै आयोजना समसमै सम्पन्न नहुँदा सेवाग्राही पनि मारमा पर्ने गरेका छन् । तर, गोरखाको पालुङटार नगरपालिकामा सञ्चालित दुईवटा आयोजना भने समयअगावै सम्पन्न भएका छन् ।
पालुङटार नगरपालिकामा निर्माण गरिएका दुईवटा मोटरेबल पुल समयअघि नै सम्पन्न भएका हुन् । गोरखाको पालुङटार नगरपालिका वडा नं ९ स्थित चुक्ती खोलाको मोटरेबल पुल बनेर गाडी चल्न थालेपछि स्थानीयलाई सहज भएको छ । पुल नहुँदा वर्षायाममा खोलामा बाढी आउँदा स्थानीयलाई आउजाउ गर्नसमेत कठिन हुन्थ्यो ।
पुल बनेपछि भने हिउँद वर्खा दुवै याममा आवागमन सहज हुने भन्दै स्थानीय हर्षित भएका छन् । गण्डकी प्रदेश सरकारको ३ करोड ४१ लाख ४२ हजारको लागतमा पूर्वाधार विकास कार्यालय गोरखामार्फत अमृत कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको थियो ।
२०८३ पुसभित्र सम्पन्न गर्नुपर्ने यो पुल एक वर्षअघि नै निर्माण पूरा भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । अमृत कन्स्ट्रक्सनले नै यसअघि पालुङटार नगरपालिकाको ढुङ्गेटारीस्थित खारखोलाको मोटरेबल पुल पनि तोकिएको समयभन्दा अगाडी नै निर्माण सम्पन्न गरेको थियो ।