
काठमाडौं । आज चैत कृष्णपक्ष चतुर्दशी अर्थात् पाँहा चर्है ।
काठमाडौं उपत्यकाका नेवार समुदायले धार्मिक तथा साँस्कृतिक उत्सवका रूपमा मनाउने पर्वका दिन सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाउने परम्परा छ । घोडेजात्रा गुरूमापा नाम गरेको राक्षससँग सम्बन्धित ऐतिहासिक पर्व हो ।
काठमाडौं उपत्यकाको प्राचीन चाडपर्वमध्ये एक पाँहा चर्है कंग अजिमा अथात् कंकेश्वरी अजिमा लगायतको खटजात्रा गरी मनाइने पर्व हो । यस दिन वर्षभरि लुकाएर राखिएको लुकु माद्यो महादेवको पुजा गरिन्छ । त्यसैगरी पर्वको अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाका घोडचढीहरूले अश्वकला र युद्धकला लगायतका विभिन्न कलाकौशल प्रदर्शन गरी घोडेजात्रा मनाएका छन् ।
मानव सभ्यतासँगै घोडाको प्रयोग हुँदै आएकोमा यसदिन घोडा दौड, घोडा जम्प, युद्धकला, सामान औसारपसार, कृषि, सिकार, यातायात, खेलकुद लगायतमा घोडाको प्रयोगसम्बन्धी कलाकौशल देखाएको थियो । यसका साथै घरपापालुवा जनावर कुकुरका पनि विभिन्न कलाकौशल देखाइएको थियो ।
मध्यकालदेखि नै प्रारम्भ भएको घोडेजात्रा र साँस्कृतिक पर्व पाँहा चर्है अन्यौन्याश्रित सम्बन्ध रहेको पाइन्छ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा रहेको एउटा रूखमा बास गर्ने गुरूमापा नामको राक्षसले सहरका बालबालिकालाई खाई दु:ख दिने गरेको जनविश्वास छ ।
त्यसबाट आतंकित सहरबासीले उक्त राक्षसको संहार गरे पनि त्यसको आत्मा टुँडिखेलको एउटा कुनाको रूखमुनी रहको र त्यही आत्मालाई घोडाको टापबाट दबाउन घोडा दौडाएर जात्रा मनाउन थालिएको ऐतिहासिक किवंदन्ति रहेको छ । यसकै स्मरणमा नेपाली सेनाले प्रत्येक वषा घोडेजात्रा मनाउन थालिएको हो ।
पौरानिक कालदेखिनै सेनाले विभिन्न कामहरूमा घोडाको प्रयोग गर्ने गरिएको पाइन्छ । उता ललितपुरको बालकुमारीमा भने परम्परागत एकलो घोडा दौडाएर जात्रा मनाउने गरिन्छ । साँस्कृतिक उत्सवका रूपमा मनाउने घोडेजात्रा जीवित देवी कुमारीले नेपाल वायु सेवा निगमको पाँचौ तल्लामा रहेको आँखीझ्यालबाट अवलोकन गर्ने गरिन्छ भने राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायप्रसाद यादव प्रधानमन्त्री सुशीला कार्कीलगायतका उच्चपदस्थ अधिकारीहरू सैनिक मञ्च पुगेर घोडेजात्राको अवलोकन गर्नुभएको थियो ।
पाँहा चर्है र घोडे जात्राको अवसरमा काठमाडौंका नेवार समुदायले घरघरमा आफन्त बोलाएर खुसी साटासाट गरी भोज खाने चलन छ ।