
काठमाडौं । निर्वाचन नतिजाको छिनोफानो भइसके पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार कहिले बन्छ ?
बालेन्द्र शाहले कहिले प्रधानमन्त्रीको सपथ लिनुहुन्छ ? पहिलो निर्णय के होला ? आमनागरिक र मतदाताले अधैर्यपूर्वक प्रतिक्षा गरिरहेका छन् । तर, सरकार गठनसम्म पुग्न अझै केही दिन कुर्नुपर्ने देखिएको छ । प्रधानमन्त्री बन्नै लाग्नुभएका बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले दिएका अभिव्यक्तिले पनि यसको संकेत गर्छन् । किन यस्तो भइरहेको छ ?
निर्वाचन सम्पन्न भएको दुईसाता भइसकेको छ । फागुन २२ देखि नै प्रत्यक्षतर्फको नतिजा आउन सुरू भएकोमा चैत २ गतेसम्म सबै परिणाम आइसकेको थियो । निर्वाचन आयोगले समानुपातिक तर्फको समेत अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । अब सरकार कहिले बन्छ ? धेरैको चासो छ ।
एउटा रोचक प्रसंग, रूटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले रवि लामिछाने, बालेन्द्र शाहलगायतले आगामी सरकार गठनबारे नियमित छलफल गरिरहेको र नयाँ सरकार एक हप्ता वा १० दिनभित्र बन्ने सम्भावना छ भन्ने स्ट्याटस लेख्नुभयो । त्यसमा बालेन्द्र शाहले कमेन्ट गर्दै भन्नुभयो - हो र ? मलाई पनि भन न यार।
रास्वपा सभापति रवि लामिछानेले पनि बुधबार सांसदहरूको प्रशिक्षणमा भन्नुभयो - पार्टीले सांसदहरूलाई कतिखेर क्याबिनेटमा पठाउँछ भनेर निर्णय गरिसकेको छैन । शीर्ष नेताका यी दुई अभिव्यक्तिले पनि सरकार गठन प्रक्रिया लम्बिने स्पष्ट छ ।
तर, संसद सचिवालयले आफ्नो तयारी भने जारी राखेको छ । सचिवालयले चैत १२ गते सांसदहरूलाई सपथ गराउने र बैठक सञ्चालन गर्ने तयारी गरिरहेको छ । सांसदहरूको सपथपछि सरकारसँगै सभामुख चयन प्रक्रिया पनि अघि बढ्ने सचिवालयको भनाइ छ ।
रास्वपामा सांसदहरूले सपथपछि प्रधानमन्त्री चयन गर्ने भन्नेबारेमा छलफल चलिरहे पनि बाहिर देखिने गरी कुनै काम भएको छैन । २०७४ सालमा प्रधानमन्त्री चयन भएपछि मात्र सांसदहरूको सपथ गराइएको थियो । त्यसैगरी २०७९ मा पहिला सांसदहरूको सपथ गराएर मन्त्रिपरिषद् चयन भएको थियो । अर्थात् दुवै अभ्यास गरेको पाइएको छ ।
विगतमा कुनै पनि दलको बहुमत नहुँदा सुरूदेखि नै सरकार गठनको तयारी र दौडधूप चल्थ्यो । तर, यसपटक रास्वपालाई सरकार गठनका लागि स्पष्ट बहुमत छ । यसअनुसार रास्वपाले संविधानको धारा ७६ (१) अनुसार सरकार बनाउनेछ। उसलाई बहुमत पुर्याउने वा सरकार गठनका लागि अरूसँग मोलमोलाई गर्नुपर्ने अवस्था छैन ।
त्यसका लागि दलभित्र पर्याप्त छलफल र तयारीका लागि रास्वपाले समय लिन सक्ने जानकार बताउँछन् । नेपालको संविधान २०८२ को धारा ७६ ले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने उल्लेख छ।
जसअनुसार हेर्ने हो भने आजसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा भएकै छैन। निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझाउने निर्वाचन परिणामसम्बन्धी प्रतिवेदनलाई अन्तिम परिणाम मानिन्छ जुन आयोगले अहिलेसम्म बुझाएको छैन।