रवि लामिछानेको संयमित सन्देश- संविधान रक्षा, विकास र ‘राइट टु रिकल’मा कडाइ

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको संयमित सन्देश- संविधान रक्षा, विकास र ‘राइट टु रिकल’मा कडाइ

काठमाडौं । सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक न्याय, विकास, संविधान रक्षा र लगानी सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको सन्देश दिएको छ । 

आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछानेले पार्टीप्रति नागरिकको विश्वास डगमाउन नदिने प्रतिबद्धतामात्रै जनाउनुभएन चित्त नबझे पार्टीको विधानबमोजिम सांसदहरूलाई 'राइट टु रिकल' अर्थात् फिर्ता बोलाउनेसमेत चेतावनी दिनुभयो । 

आधा घन्टा लामो उहाँको वक्तव्य विगतमा भन्दा निकै संयमित र जिम्मेवारपूर्ण देखिएको थियो । निर्वाचनबाट झन्डै दुई तिहाइ मत पाएपछिको पहिलो सार्वजनिक वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीप्रति नागरिकको भरोसा कायम राख्न सांसदहरूलाई पटक-पटक आग्रह गर्नुभयो । 

विशेषगरी सन्तुलित बजेट वितरण र विकासमा जोड दिनुभएका उहाँले अब सुदूरपश्चिम, मधेश र कर्णालीलाई रूवाउन नहुने बताउनुभयो । सभापति लामिछानेले मुलुक नयाँ युगमा प्रवेश गरिसकेकाले लगानीका सुरक्षित रहने सन्देश दिने प्रयाससमेत गर्नुभयो । 

देशका विद्यमान नीति नियम र कानुन नै विदेशी लगानी सुरक्षित गर्न पर्याप्त रहेकाले कुनै दल वा नेता विशेषलाई रिझाउनु नपर्ने उल्लेख गर्दै उहाँले दातृ निकाय र लगानीकर्तालाई ढुक्क हुन आग्रह पनि गर्नुभयो । सभापति लामिछानेले दिन खोजेको अर्को सन्देश थियो-संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धता । 

जनताले दिएको मतका आधारमा एकल सरकार बनाउन र ऐन कानुन सहजै संशोधन गर्न सक्ने वातावरण बने पनि संविधान र विद्यमान व्यवस्थामै रहेर अघि बढ्ने उहाँको भनाइ छ । मुलुक नयाँ मानिसको हातमा गएकाले लोकतन्त्र खतरामा पर्ने वा अधिनायकवाद आउाछ कि भनेर कसैले पनि शंका गर्नुपर्ने अवस्था नरहेको जिकिर उहाँले गर्नुभयो ।

लामिछानेले आफ्ना सांसदहरूलाई स्वतन्त्रता र अनुशासनको सीमारेखा पनि सम्झाउनुभयो । सस्तो लोकप्रियता र निजी आकांक्षामा मात्र केन्द्रित भएर जनताका काम गर्न ध्यान नदिए पार्टी विधानमा रहेको राइट टु रिकल कडाइका साथ लागू गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

सभापति लामिछानेले संसदीय गतिविधिबाहेकका दिन हरेक सांसदलाई जनताका घरदैलोमै पुगेर सेवा दिन पनि आग्रह गर्नुभएको छ । निर्वाचनअघि मतदातासँग गरेको करारअनुसार नै जनतामाझ काम गर्नुपर्ने भएकाले सांसदहरूलाई अध्ययन गरेर हरेक विषयमा अपडेट भएर प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । 

विगतमा विपक्षीप्रति आक्रामक अभिव्यक्ति दिने सभापति लामिछाने बुधबार आफ्नो सम्बोधनमा निकै संयमित र जिम्मेवारपूर्ण देखिनुभएको थियो । यतिमात्रै नभइ पुराना दलका नेतालाई लक्षित गर्दै उहाँले भन्नुभयो-इतिहास तपाईंहरूले लेख्नुभयो, अब भविष्य हामी लेख्छौं ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.