
काठमाडौं । अर्जेन्टिनी फुटबल टोलीका सफलमध्येका एक गोलकिपर सर्जियो रोमेरोले दुई दशकभन्दा बढीको करियरलाई बिदा भनेका छन् ।
सोमबार ग्लोब्स थन्क्याएको घोषणा गर्दै उनले आफ्नो व्यावसायिक खेल जीवनलाई टुंग्याएका हुन् । रोमेरो, २०१५ र १६ को कोपा अमेरिका तथा २०१४ को विश्वकप फाइनलसहित अर्जेन्टिनाका लागि विभिन्न महत्त्वपूर्ण टुर्नामेन्टका प्रभावशाली सदस्य थिए ।
सन् २०१४ को फिफा विश्वकप फाइनल प्रायः अर्जेन्टिना समर्थकले सम्झन चाहँदैनन् । तर, त्यो प्रतियोगिताका हिरो सर्जियो रोमेरोलाई भने सायदै कसैले बिर्सनेछ । नेदरल्यान्ड्सविरूद्ध सेमिफाइनलमा पराजयउन्मुख परिस्थितिमा रोमेरोको नायकीय प्रदर्शनकै आधारमा अर्जेन्टिना २४ वर्षपछि उपाधि भिडन्तसम्म पुगेको थियो ।
खेल सकिएपछि टिममेट हाभिएर मासेरानोले त रोमेरोलाई दिनको नायक नै भनेका थिए । सेमिफाइनलमा दुई पेनाल्टी बचाएका रोमेरोले फाइनलमा पनि अन्तिम समयसम्म डटेर खेलेका थिए । दुर्भाग्य, मारियो गोट्जेले अतिरिक्त समयमा प्रहार गरेको भली रोमेरोलाई छक्याउँदै गोलपोस्ट छिर्यो ।
यिनै ३९ वर्षीय रोमेरोले अब भने आफ्नो ग्लब्स थन्क्याउने निर्णय गरेका छन् । अर्जेन्टिनाको इतिहासमै सबैभन्दा धेरै अर्थात् ९६ अन्तर्राष्ट्रिय क्याप जित्ने गोलरक्षक रोमेरोले पारिवारिक कारण देखाउँदै सन्यास घोषणा गरेका हुन् । अर्जेन्टिनी फुटबल समर्थकका लागि करिब एक दशकसम्म गोलरक्षकका प्रतीकको रूपमा रहेका रोमेरो अब प्रशिक्षक बनेर मैदान फर्कने तयारीमा छन् ।
रोमेरो अर्जेन्टिनाको त्यो स्वर्णिम युवा टोलीका सदस्य थिए जसले सन् २००७ मा क्यानडामा भएको फिफा यू-२० विश्वकप जित्यो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिक्समा स्वर्ण पदक प्राप्त गर्यो । सिनियर राष्ट्रिय टोलीबाट रोमेरोले सन् २०१० र १४ को विश्वकपसहित २०१५ र १६ को कोपा अमेरिका खेले ।
यी प्रतियोगितामा रोमेरोको प्रदर्शन उल्लेखनीय थियो । नौ वर्षको उमेरमा सन् १९९६ मा फुटबलतर्फ अघि बढेका उनले तीन फरक क्लबको युवा एकेडेमीमा फुटबल सिके । सन् २००६ मा उनले पहिलो पटक रेसिङ क्लबमा सिनियर टिममा अवसर पाए । एक सिजनमा चार खेलमा मात्रै अवसर पाएका उनी अर्को वर्ष नेदरल्यान्ड्सको अल्कमार जानस्टिकमा अनुबन्ध भए ।
त्यहाँ उनले चार सिजनका ९० खेलमा आफूलाई उत्कृष्ट गोलकिपर साबित गरे । इटालियन क्लब साम्दोरियामा तीन सिजन पूरा बिताए । एक सिजन लोनमा फ्रान्सको मोनाकोमा बेन्च हिटर मात्रै बने । ८ वर्षअघि नै अन्तर्राष्ट्रिय करियर अन्त्य गरेका रोमेरोले १५ वर्ष युरोपमा व्यावसायिक जीवन बिताए ।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रोमेरोले ६१ खेल खेल्दा ३९ क्लिन चिट हात पारे । रोमेरोले सन् २०१५ देखि २०२१ को समय म्यानचेस्टर युनाइटेडमा बिताए । युनाइटेडले युरोपा लिगसहित तीन उपाधि कब्जा गर्दा उनको योगदानलाई धेरैले कदर गर्छन् ।
नकआउट प्रतियोगिताका अब्बल गोलकिपर रोमेरोको प्रिमियर लिगमा भने उपस्थिति विशेष छैन । युनाइटेडपछि इटालीको भेनेजियामा एक सिजन बिताएर उनी सन् २०२२ मा अर्जेन्टिनाको क्लब बोका जुनियर्स फर्किएका थिए । जुनियर्समा ४१ खेल खेलर उनी खेलाडी जीवनबाट बिदा भएका हुन् ।