नवप्रवेशी सांसदलाई प्रशिक्षण, परिणाममुखी काममा रास्वपाको जोड

चैत्र ३, २०८२ |दशरथ राई
नवप्रवेशी सांसदलाई प्रशिक्षण, परिणाममुखी काममा रास्वपाको जोड

काठमाडौं । यसपटक निर्वाचनबाट ८० प्रतिशतभन्दा बढी सांसदहरू पहिलो पटक संसद् प्रवेश गर्दैछन्, तिनमा अधिकांश सरकार सञ्चालनको तयारीमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका छन् । 

पहिलो पटक प्रवेश गर्दै गरेका यी सांसदहरूलाई रास्वपाले संसद्‌मा उनीहरूको भूमिका, कानुन निर्माण, सरकार र विकासका काममा निर्वाह गर्नुपर्ने भूमिकाबारे दुई दिने प्रशिक्षण दिइरहेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह अनुपस्थित पहिलो दिनको प्रशिक्षणमा सांसदहरूले जनताले गरेका विश्वास जोगाउन परिणाम देखाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

फागु्न २१ को निर्वाचनबाट ५ वर्ष सरकारको नेतृत्व गर्ने जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यसपटक अधिकांश सांसदहरू पहिलोपटक संसद् प्रवेश गर्दैछन् । नवप्रवेशीलाई संसदीय अभ्यास सिकाउन रास्वपाले मंगलबार ललितपुरमा गरेको अभिमुखीकरणमा सहभागी हुने क्रममा अधिकांश सांसदहरू उत्साही देखिए । 

कोही ट्याक्सीमा त कोही मोटरसाइकलमा फूर्तिका साथ पुगे । कान्तिपुरसँगको कुराकानीका क्रममा अधिकांशले निर्वाचनक्षेत्रका समस्या समाधानमा जुटिसकेको बताए । सरकार गठन नहुँदै उनीहरूले सिंहदरबारस्थित मन्त्रालय र सम्बन्धित विभागहरूमा पुगेर विकासमा भएको ढिलासुस्तीप्रति चासो राख्न थालिसकेका छन् ।

अभिमुखीकरणमा सहभागी रास्वपा सांसदहरूले सरकारमा पठाइने व्यक्ति विज्ञ तथा अनुभवी हुनुपर्ने र सबैसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने खुबी हुनुपर्नेमा पनि जोड दिए । जेन-जी जनआन्दोलनको जगमा भएको निर्वाचनबाट सत्तामा जाँदै गर्दा आन्दोलनका मुद्दा सम्बाेधनलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ । 

त्यसैगरी सांसदहरू आफ्ना समुदायका मुद्दामा पनि चनाखो देखिएका छन् भने पाँच वर्षको अवधिमा सुशासन र जवाफदेहीता व्यवहारमा देखाउने संकल्प लिएका छन् । रास्वपा नेतृत्वले समेत पाँच वर्षको जिम्मेवारी पाएको रास्वपालाई उपयोग गर्दै अर्कोवर्ष विपक्षीरहितको संसद्‌मा उपस्थिति जनाउने काम गर्नुपर्नेमा सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।

मंगलबार पहिलो दिनको अभिमुखीकरणमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह भने अनुपस्थित हुनुहुन्थ्यो । दुई दिने प्रशिक्षणपछि नयाँ सरकार गठन प्रक्रियाअघि बढाउने रास्वपाको तयारी छ । दुई तिहाइ नजिकको जनादेश पाएको रास्वपाले गठन गर्ने नयाँ सरकार र सांसदहरूले नागरिकका पक्षमा कसरी काम गर्छन्, आममतदाताको चासोको विषय बनेको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।