रास्वपा अभिमुखीकरण कार्यक्रम : ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने नेताहरूकाे भनाइ

चैत्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा अभिमुखीकरण कार्यक्रम : ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने नेताहरूकाे भनाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । 

मंगलबारदेखि सुरू भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटनका अवसरमा नेताहरूले जनतामा अत्याधिक आशा रहेकाले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने पनि औंल्याए । उपसभापति डा. स्वर्णिम वाग्लेले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्यान्डेट दिएर जनताले पठाएको बताउनुभयो । 

जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । उपसभापति वाग्लेले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन तथा जनताका गुनासा ध्यान दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । 

उहाँले कानुन तथा नेपालको संविधानलाई गहिरोसँग अध्ययन गर्न पनि सांसदहरूलाई सुझाव दिनुभयो । अर्का उपसभापति डोलप्रसाद अर्यालले इतिहास लेख्ने अवसर जनताले दिएको उल्लेख गर्दै यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । रास्वपाले पार्टीका नीति र सांसदका रूपमा गर्नुपर्ने कामबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी दिन अभिमुखीकरण कार्यक्रम गरेको हो । 

विशेषगरी पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । 

संघीय संसद्को कानुन निर्माणमा के कस्तो भूमिका रहेको छ तथा डिजिटल युगमा सांसद र नागरिकबीच कस्तो र कसरी सम्बन्ध कायम गर्ने भन्नेबारे पनि सांसदहरूलाई विज्ञले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा मेघ आले, अनिल चित्रकार, संसद सचिवालयका पूर्वसचिव सुरेश अधिकारी, आईटी विज्ञ दोभान राइलगायतले सहजकर्ता तथा वक्ताको भूमिका निर्वाह गर्नेछन् । 

बुधबार हुने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्षबाट निर्वाचित १ सय २५ र समानुपातिकबाट निर्वाचित ५७ गरी १ सय ८२ सांसदहरू सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.