काठमाडौं । यस वर्षपनि नयाँ शैक्षिक सत्र आउन एक महिना बाँकी छँदै जनक शिक्षा सामग्री केन्द्रले विद्यालयतहको पाठ्यपुस्तक छपाइ सकेर बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको छ ।
प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइसँगै सामुदायिक विद्यालयमा अध्ययन गर्ने देशभरका ३० लाख विद्यार्थीका लागि १ करोड ७० लाख थान पुस्तक समयमै छपाइ गरी बिक्री वितरणको तयारी गरेको जनक शिक्षाले जनाएको छ । तर, पुस्तकको आकर्षक साजसञ्जा र कागज गुणस्तरयुक्त बनाइ विद्यार्थीलाई पढ्न प्रेरित गर्नेतर्फ जोड दिन आवश्यक छ ।
नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हातमा पुस्तक पुर्याउन जनक शिक्षाले कहिलेदेखि बिक्री वितरण सुरू गर्छ त ?
शिक्षा मन्त्रालयको फ्ल्याट रिपोर्टअनुसार देशभरका सामुदायिक विद्यालयमा कक्षा १ देखि १० कक्षासम्म अध्ययन गर्ने देशभर विद्यार्थीको संख्या ४४ लाखको हाराहारीमा छ । ती विद्यार्थीका लागि २ करोड ३० लाख थान पाठ्यपुस्तक आवश्यक हुन्छ । २०८३ सालको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा ३, ५ देखि १० का विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मा पाएको छ भने निजी क्षेत्रले कक्षा १ २ र ४ कक्षाको पुस्तक छपाइदेखि वितरणसम्मको जिम्मा पाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४० दिन मतपत्र छपाइमा व्यस्त भएसँगै जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि आवश्यक १ करोड ७० लाख थान पुस्तक समयमै छपाइ सम्पन गरी शैक्षिक सत्र सुरू हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन चैत १५ देखि बिक्री वितरण सुरू गर्ने जनाएको छ ।
त्यसका लागि जनक शिक्षाका सबै प्रादेशिक कार्यालयमा पुस्तक पुर्याइसकेको र एक हजार २ सय बिक्रेतामार्फत वितरण गर्ने तयारी छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आए पनि गुणस्तरमा भने हरेक वर्ष प्रश्न उठ्ने गरेको छ ।
विद्यार्थीलाई पढौं पढौं लाग्नेगरी पुस्तकको कागज, साजसञ्जादेखि कन्टेन्टमा समेत गुणस्तरयुक्त र समयसापेक्ष बनाउन आवश्यक रहेको शिक्षक र अभिभावकहरू बताउँछन् । त्यसो त अघिल्लो वर्ष शिक्षा मन्त्रालयले दिएको विद्यार्थी संख्याको आधारमा पाठ्यपुस्तक छपाइ गरे पनि त्यसको तुलनामा ४० लाख थान पुस्तक बिक्री वितरण कम भएको जनक शिक्षाको भनाइ छ ।
सरकारी विवरणअनुसार पुस्तक छपाइ गरे पनि विध्यार्थी संख्या भने नभएको जनक शिक्षाको बुझाइ छ । र, जनक शिक्षाले पुस्तकको गुणस्तर सुधार गर्नुपर्ने स्विकार्दै आगामी वर्षबाट थालनी गर्ने बताएको छ । त्यसो त सरकारले पाठ्यपुस्तकका लागि हरेक वर्ष २ अर्ब रूपैयाँ विनियोजन गर्दै आएको छ ।
पुस्तकदेखि विद्यालय र विद्यार्थीको सिकाइ उपलब्धीका लागि सरकारले ठूलो लगानी गरे पनि सो अनुसारको प्रतिफल भन्ने आउन सकेको छैन् ।