बाँके । मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरू भएसँगै बाँकेका मुस्लिम समुदायले धार्मिक आस्था र अनुशासनका साथ रोजा बसेका छन्।
मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन्।
रमजान महिनामा मुस्लिम धर्मावलम्बीहरू सूर्य उदाउनुभन्दा डेढ घन्टा पहिले सेहेरी खानेकुरा खाने गर्छन्। घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ। यो समयलाई रोजा खोल्ने समय भनिन्छ। दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन्।
रमजानमा दिनभरि पानीसमेत नपिई रोजा अर्थात् उपवास बस्ने र दिनमा पाँच पटक नमाज पढ्ने गरिन्छ। आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नु पर्छ। दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन ।
रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात अर्थात् कर निकाल्नु पर्छ । रमजान महिनामा गरिब तथा असहायलाई सहयोग गर्ने र दान दिने परम्परालाई पनि विशेष महत्व दिइन्छ। एक महिना उपवास सकिएको दिन ईद पर्व मनाउँदै खुसी साटासाट गर्ने परम्परा रहेको छ। मुस्लिम समुदायका अनुसार रोजाले आत्मशुद्धि संयम र धैर्यताको अभ्यास गराउँछ।