
काठमाडौं । श्रीलंका सरकारले इन्धन बचत गर्न सातामा चार दिनमात्र सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रत्येक बुधबार पनि बिदा दिने निर्णय गरेसँगै श्रीलंकामा सातामा तीन दिन बिदा हुने भएको हो । श्रीलंकामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरिएकोमा लगातार तीन दिन बिदा दिने समस्या हटाउन शुक्रबारको सट्टा बुधबार बिदा दिइएको हो ।
सरकारी कार्यालयका साथै शैक्षिक संस्था पनि बुधबार बन्द रहनेछन् । तर, स्वास्थ्य र आप्रवासनजस्ता अत्यावश्यकीय सेवाका लागि यो निर्णय लागू हुनेछैन । बुधबार सार्वजनिक यातायात पनि सीमित गरिनेछन् भने सरकारले अत्यावश्यकीय सेवाका लागि मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
यस्तै, सवारी चालकहरूले नेसनल फ्युल पासका लागि दर्ता गर्नुपर्ने भएको छ भने निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरको कोटा तोकिएको छ । अन्य एसियाली मुलुकहरूले पनि इन्धन बचत गर्न विभिन्न उपाय अपनाएका छन् ।
म्यानमारमा निजी सवारीसाधनहरूलाई नम्बर प्लेटका आधारमा पालैपालो दिनमा मात्र चलाउन अनुमति दिइएको छ भने बंगलादेशले ऊर्जा बचत गर्न लोडसेडिङ सुरू गरेको छ । फिलिपिन्समा सरकारी कार्यालयका कर्मचारीलाई हप्तामा कम्तिमा पनि एक दिन घरबाट काम गर्न अनिवार्य गरिएको छ । भियतनाममा पनि इन्धन बचतका लागि घरमै बढी बस्न निर्देशन दिइएको छ ।