नयाँ सरकारका मन्त्री कहाँ बस्छन् ?

भाडाका घर खोज्ने सरकारको तरखर
भदौको आन्दोलनमा ध्वस्त भएका भैंसेपाटीका मन्त्री क्वार्टरको पुनर्निर्माण अझै सुरु भएन
चैत्र ३, २०८२ |प्रकाश बम
नयाँ सरकारका मन्त्री कहाँ बस्छन् ?

काठमाडौं । निर्वाचन सम्पन्न भएर केही दिनमै देशले नयाँ सरकार पाउँदैछ । तर, नयाँ सरकारका मन्त्रीहरू कहाँ बस्छन्, अहिलेसम्म टुंगो छैन । 

भदौ २३ र २४ को जेन-जी आन्दोलनमा ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासका २७ मध्ये २६ ब्लक आगजनी र तोडफोडका कारण ध्वस्त छन् । तिनको पुनर्निर्माणका लागि बल्ल टेन्डर प्रक्रिया सुरू भएकाले नयाँ मन्त्रीहरूलाई आवासको व्यवस्था कसरी गर्ने भन्ने विषय अन्योलमा छ ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनमा भैंसेपाटीस्थित मन्त्री निवासका २७ वटा ब्लकमध्ये २६ ब्लक आगजनी र तोडफोडबाट पूर्णरूपमा ध्वस्त भए । तर, रक्षामन्त्री बस्ने निवास भने केही भएन । यहि अहिले अन्तरिम सरकारका वनमन्त्री माधवप्रसाद चौलागाईँ बसिरहनुभएको छ । बाँकी मन्त्री आफ्नै र भाडाका घरमा बसिरहेका छन् ।

अब नयाँ सरकारका मन्त्रीहरूलाई आवासको व्यवस्था कसरी गर्ने भन्ने अन्योलमा सहरी विकास मन्त्रालय छ । मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नयाँ मन्त्रीहरूलाई अस्थायी आवासको व्यवस्थाका लागि विकल्पको खोजी गरिरहेको छ । 

काठमाडौंमा घर भएका मन्त्रीलाई घरमै बसाउने र नभएकालाई भाडाको घर खोजिदिने योजना उसको छ । त्यसका लागि पनि सरकारले औपचारिक निर्णय लिनुपर्ने हुन्छ । कार्यालयका प्रमुख चक्रवती कान्त कति सदस्यीय मन्त्रिपरिषद् बन्छ र कति जनाका लागि आवास आवश्यक हुन्छ भनेर तय भइसकेपछि सरकारले आवासबारे निर्णय लिने बताउनुभयो । 

त्यसको कार्यान्वयन प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयको समन्वयमा गरिने उहाँको भनाइ छ । करिब ३ अर्ब रूपैयाँ खर्चिएर निर्माण भएको भैसेंपाटीको यो परिसरमा मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा उपसभामुखका लागि सुविधासम्पन्न निवास निर्माण गरिएको थियो । तर, एक वर्षमै खण्डहर बनेको छ । 

आगजनी र तोडफोडबाट खण्डहरमा परिणत भएको मन्त्री निवासका २६ मध्ये ११ वटा आवासको बोलपत्र आह्वान भएर मूल्यांकनको प्रक्रिया भइरहेको छ भने बाँकी १५ वटा ब्लकका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । ११ वटा भवन आगामी असारसम्ममा पुनर्निर्माण पूरा हुने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । 

ललितपुरको पुल्चोकमा २०२८ सालमा मन्त्रीहरूका लागि आवास निर्माण गरिएको थियो । पुल्चोकका आवास भने न्यायाधीश निवासमा परिणत गरिएका छन् । 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।