
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएकामध्ये अहिलेसम्म ३ सय ७८ जनाको मात्र वर्गीकरण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालहरूबाट आएको तथ्यांकअनुसार २ हजार ६ सय ३८ जना घाइतेको उपचार भए पनि दर्ता प्रकियामा नआएकाले सबैको वर्गीकरण हुन नसकेको हो । वर्गीकरणका लागि सरकारले घाइतेको परिचय पत्र अनिवार्य गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २२ जना अति गम्भीर, ७३ जना गम्भीर, ६७ जना मध्यम र २ सय १६ जना सामान्य रहेको भनि वर्गीकरण भएको छ । वर्गीकरण भएकाहरूले अवस्था हेरेर आर्थिक सुविधा पाउँछन् । स्वास्थ्य मन्त्रालयले कोही घाइतेको नाम छुटेको भए अस्पतालमा फागुन १५ भित्रमा सम्पर्क गर्ने अन्तिम मिति तोकेकोमा त्यो अवधि सकिसकेको छ। तर, परिचयपत्र नपाएका जेन-जी आन्दोलनका घाइतेहरुले थप पक्रिया पुर्याएर पत्र लिएमा वर्गीकरण गर्ने अवधि भने अहिलेसम्म नरोकिएको सरकारको भनाइ छ ।
मन्त्रालयका अनुसार घाइतेहरूको उपचार गराएका स्वास्थ्य संस्थामध्ये करिब २१ संस्थाले ७ करोड माग दाबी गरेकोमा कागजपत्र रूजु भइरहेको छ भने ८ वटा संस्थाको १४ लाख भुक्तानी भइसकेको छ । मन्त्रालयले अस्पताललाई उपचार वापतको काजग पत्र पठाउने समयावधि पनि तोक्ने तयारी थालेको छ ।