एनपीएल : आठै टोलीको रिटेन-रिलिज प्रक्रिया पूरा, अक्सनको तयारी सुरू

असार ५, २०८३ |सुवास रोकाया
एनपीएल : आठै टोलीको रिटेन-रिलिज प्रक्रिया पूरा, अक्सनको तयारी सुरू

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि आठैवटा फ्रेन्चाइज टोलीले रिटेन र रिलिज प्रक्रिया पूरा गरेका छन् । 

टोलीहरूले आफ्ना ‘कोर’ खेलाडीलाई सुरक्षित राख्दै कमजोर कडी सुधार्ने संकेत दिएका छन् । सातवटा टिमले मार्की खेलाडी जोगाउँदा जनकपुर बोल्ट्सले भने आसिफ शेखलाई यसपालि रिलिज गरेको छ । आठ फ्रेन्चाइजले कसलाई रिटेन गरे अनि कसलाई रिलिज गरे त ?

साबिक विजेता लुम्बिनी लायन्सले कप्तान रोहित पौडेलसहित टोलीको मुख्य संरचना जोगाएको छ । सन्दीप जोरा, दिलिप नाथ, दिनेश अधिकारी, शेर मल्ल, अभिषेक गौतम र तिलक राजभण्डारीलाई लुम्बिनीले निरन्तरता दिएको छ । समीर अली, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन र विशाल पटेललाई रिलिज गर्दै विकल्प खोज्ने बाटो खुला राखेको छ ।

सुरुआती २ सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा आफ्नो मुख्य ढाँचा कायमै राखेको छ । विनोद भण्डारी, इशान पाण्डे, आरिफ शेख, हेमन्त धामी, अभिनाश बोहरा र हिक्मत महरालाई राखेर टोलीले अनुभव र युवाको सन्तुलन कायम राखेको छ । 

नरेन साउद, दीपक बोहरा, मिलन बोहरा, दिपेन्द्र थापा र टेक रावतलाई भने टोलीले रिलिज गरेको छ । गत सिजन ट्यालेन्ट हन्टबाट रिटेन हुने हिक्मत टिमका एक जना मात्र हुन् । विराटनगर किङ्सले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, बासिर अहमद, नारायण जोशी, प्रतीश जिसी र सुवास भण्डारीलाई निरन्तरता दिएको छ । 

नरेन भट्ट, साहिल पटेल, शंकर राना, सूर्य तामाङ, श्रवण किस्कु र आयुष न्यौपानेलाई रिलिज गरेको छ । काठमाडौँ गोर्खाजले मार्की करण केसीसहित भीम सार्की, आदिल आलम, राशिद खान, शाहब आलम र सन्तोष यादवलाई निरन्तरता दिएको छ भने तुलबहादुर थापा, नटराजन शाह, प्रतीक श्रेष्ठ, दीपेश कँडेल, उत्तम थापा मगर र आकाश त्रिपाठीलाई रिलिज गरेको छ ।

कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्सले विपिन खत्री, आकाश चन्द, सागर ढकाल, किरण ठगुन्ना, दिनेश खरेल र अर्जुन कुमाललाई निरन्तरता दिएको छ । टोलीले तृतराज दास, अभिषेक तिवारी, कृष्ण पौडेल, रोहित चन्द र सन्दीप क्षेत्रीलाई रिलिज गर्दै नयाँ संयोजनको तयारी गरेको छ ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, पवन सर्राफ, युनिसविक्रम सिंह ठकुरी, दीपक डुम्रे र युवराज खत्रीलाई रिटेन गरेको छ । विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र इमरान शेख भने रिलिज गरिएका छन् ।

चितवन राइनोजले गत सिजनको कमजोरी सुधार्ने लक्ष्यसहित कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, दीपक बोहरा, अर्जुन साउद र रञ्जित कुमारलाई निरन्तरता दिएको छ । विपिन रावल, गौतम केसी, विपिन आचार्य र अमर सिंह रौतेलालाई रिलिज गरिएको छ ।

उपाधि रक्षा अभियानमा निकै कमजोर भएको जनकपुर बोल्ट्सले भने ठूलो फेरबदल गरेको छ । अनिल साह, ललित राजवंशी, मयान यादव, विकास आग्री र आदित्य महतालाई राख्दै टोलीले आसिफ शेख, किशोर महतो, रूपेश सिंह, शुभ कंसाकार, तुलबहादुर थापा मगर, सचिन भट्ट र पप्पु यादवलाई रिलिज गरेको छ । 

आसिफ रिलिन हुने एक मात्र मार्की खेलाडी र राष्ट्रिय टिमका नियमित सदस्य हुन् । अब सबै टोलीहरूको ध्यान अक्सनतर्फ केन्द्रित हुनेछ । अक्सनमा टिमहरूले रिक्तता भर्दै टोलीलाई सन्तुलित बनाउने प्रयास गर्नेछन् । नेपाल क्रिकेट संघले चाँडै अक्सन मिति सार्वजनिक गर्ने बताएको छ । 

तेस्रो सिजनको नेपाल प्रिमियर लिग अक्टोबर-नोभेम्बरमा आयोजना हुने तय छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।