
काठमाडौं । विश्वकपमा यसपालि रेफ्रीहरू अलि बढी निर्मम देखिएका छन् ।
विश्वकपमा समूह चरणको पहिलो राउन्ड सकिँदा मात्रै उनीहरूले ६ वटा रातो कार्ड देखाइसकेका छन् । जबकि यसअघिका दुईवटा संस्करणमा पूरै टुर्नामेन्टभरि ४-४ वटा रातो कार्ड देखाइएको थियो । आखिर किन यो विश्वकपमा रातो कार्डको धेरै देखिए त ?
यसपालिको विश्वकपको ‘म्याच डे वान्’ अर्थात् समूह चरणको पहिलो राउन्ड बिहीबार सकियो । कुल १०४ मध्ये जम्मा २७ खेल मात्र सम्पन्न भएका छन् । तर, रेड कार्डको हिसाब गर्ने हो भने यो विश्वकपले अघिल्ला दुई संस्करणलाई उछिनेको छ ।
सन् २०१८ को रुस विश्वकप र २०२२ को कतार विश्वकपभरि जम्मा ४-४ वटा रातो कार्ड देखाइएको थियो । यीमध्ये ‘स्ट्रेट रेड’ तीनवटा मात्र थिए, बाँकी दोहोरो यल्लो थियो । तर, उत्तर अमेरिकी भूमिमा जारी विश्वकपमा रेफ्रीहरूले २७ खेलमै ६ वटा रातो कार्ड देखाइसकेका छन् ।
अझ रोचक कुरा त, यी ६ वटै कार्ड ‘स्ट्रेट रेड’ हुन् । केही विश्लेषकका कुरा सुन्ने हो भने, यही गतिमा अघि बढे सन् २००६ को २८ वटा रातो कार्डको रेकर्ड यसपालि तोडिन पनि सक्छ । २०२६ मा रातो कार्ड शृंखला उद्घाटन खेलबाटै सुरु भएको हो ।
मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमै तीनवटा रातो कार्ड देखाइएको थियो । दक्षिण अफ्रिकाका सिथोले र ज्वान, अनि मेक्सिकोका मोन्टेसले रातो कार्ड पाएका थिए । त्यस्तै, गएरातिको क्यानडा र कतारबीचको खेलमा पनि दुईवटा रातो कार्ड जारी भयो । कतार नौ खेलाडीमा सीमित भयो ।
अझ कतारका असीम माडिबोको ट्याकलका कारण क्यानडाका इस्माइल कोने गम्भीर घाइते समेत भए । गए राति नै स्विट्जरल्यान्ड र बोस्नियाबीचको खेलमा पनि एउटा रातो कार्ड देखाइएको थियो ।
आखिर किन यो विश्वकपमा रातो कार्ड धेरै देखिए त ?
पूर्वरेफ्री मार्क क्ल्याटेनबर्गले फक्स स्पोर्टसमा व्यक्त भनाइलाई आधार मान्ने हो भने रातो कार्ड धेरै देखाइनुमा मनोवैज्ञानिक कारण छ । अहिले टोलीमा खेलाडीको संख्या २६ पुगेको छ । अर्थात् खेलाडीहरूमा आफूले रातो कार्ड खाइहाले पनि अर्को खेलमा अरूले अवसर पाउने सोच भएकाले पेनाल्टी एरियामा उनीहरूले बढी जोखिम लिइरहेका छन् ।
टोली संख्या कम हुँदा उनीहरू यो रिस्क लिन हिच्किचाउँथे । फिफा र इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले यसपटक शून्य सहनशीलता नियमहरू ल्याएका छन् । त्यो भनेको मुख छोपेर कुरा गर्न नपाइने । यदि कुनै खेलाडीले झगडा वा विवादको क्रममा हात वा जर्सीले मुख छोपेर केही बोलेमा उसलाई सीधै रेड कार्ड दिइन्छ ।
नश्लीय विभेद र दुर्व्यवहार रोक्न यो नियम बनाइएको हो । त्यस्तै, रेफ्रीको निर्णयको विरोधमा मैदान छोडेर बाहिरिने खेलाडी वा त्यसो गर्न उक्साउने प्रशिक्षकलाई पनि सीधै रातो कार्डको व्यवस्था छ । यी नयाँ नियमका कारण रातो कार्ड जारी भइनसके पनि यसले प्रतियोगिता अघि बढ्दै जाँदा असर पार्नसक्ने देखिन्छ ।
त्यसो त, रातो कार्ड पाएकै कारण १० वा ९ खेलाडीमा सीमित टोलीहरू अन्तिम समयमा रक्षात्मक बन्न बाध्य हुने गरेका छन् । जसले अन्तिम नतिजामै प्रभाव पारिरहेको छ । यता फिफाले कडा नियममार्फत खेललाई निष्पक्ष बनाउन खोजे पनि, यसपटक पनि रातो कार्ड अनि रेफ्रीको भूमिका विवादरहित भने छैन ।
अर्जेन्टिना र अल्जेरियाबीचको खेलमा लियोनल मेस्सीले विपक्षीको खुट्टामा कुल्चिँदा उनलाई चेतावनी मात्र दिएर छोडियो । दक्षिण अफ्रिकी प्रशिक्षक ह्युगो ब्रोसले त मेस्सीलाई कार्ड नदिने तर आफ्नो खेलाडीलाई ३ खेलको प्रतिबन्ध लगाउने भन्दै फिफाको दोहोरो मापदण्डमा प्रश्न नै उठाए ।