
काठमाडौँ । सामान्यतः १२ देखि १८ वर्ष उमेरका बालबालिकाले एक मिनेटमा १६ पटकसम्म सास फेर्छन् । यो आधारमा विद्यालयमा बसेको ६ घण्टामा उनीहरूले ५ हजार ७ सय ६० पटक सास फेरेका हुन्छन् । र हरेक पटक सास फेर्दा यी कलिला बालबालिकाको फोक्सोमा काठमाडौँको विषाक्त हावा पसिरहेको छ ।
बिहीबार काठमाडौँ दरबार हाई स्कुलका शिक्षक राजु कलौनी कक्षा ८ का विद्यार्थीहरूलाई वातावरण प्रदूषणबारे नै पढाइरहनुभएको थियो । कक्षामा कसैले पनि मास्क प्रयोग गरेका थिएनन् । जबकि त्यहीँ नजिकको रत्नपार्क स्टेसनले बिहान ९ बजे त्यस वरपरको प्रदूषण पीएम २.५ दुई सय देखाएको थियो । मध्याह्न १२ बजे प्रदूषण थोरै घटेर १ सय ८० माथि पुगेको थियो । यद्यपि यो दुवै अवस्था अत्यन्तै घातक हो । प्रदूषणको जगजगीमा पनि विद्यालयले भने मास्क लगाउनसमेत अनिवार्य गराएको छैन ।
दिउँसोको खाजा समयमा विद्यार्थीहरू कक्षाकोठा बाहिर निस्किए । कोही खाजा खान थाले त कोही खेल्न । यीमध्ये हामीले केहीसँग कुरा गर्यौँ । त्यसक्रममा अधिकांश विद्यार्थीमा प्रदूषणको असर रहेको पाइयो । केहीले छाती पोलेको बताए भने केहीले आँखामा समस्या रहेको बताए । कसैले राति निद्रा नलाग्ने समस्या सुनाए भने कसैले एकाग्रता नहुने समस्या सुनाए ।
रत्नपार्कमा पीएम टु प्वाइन्ट फाइफ १ सय ८२ भन्दा माथि छ । जबकि यो ५० भन्दा तल हुनुपर्छ । तर, यस्तो विकराल अवस्था आउँदा पनि सरकारले कुनै कदम चालेको छैन । सरकार थाहै नपाएझैँ बसेको छ ।
सरकारले विषाक्त हावाको असर कम गराउन प्रभावकारी कदम त चालेको छैन नै, यस्तो आपत्कालीन स्थितिमा बालबालिकाको स्वास्थ्यमा दिइनुपर्ने न्यूनतम सजगता समेत अपनाउन सकेको पाइँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वातावरण विभागले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन भने पनि, हरेक दिन हजारौँ बालबालिका घण्टौँ विद्यालयमा बस्दा पर्ने असरबारे भने सोच्नै सकेको छैन ।
कलिला विद्यार्थी मात्र होइन बिरामी, श्रमिक, यात्रुलगायत थुप्रै मानिस प्रदूषणको मारमा छन् । तर नियामक निकाय भने क्षेत्राधिकारको बहाना देखाएर पन्छिने गरेको छ ।
त्यसो त प्रदूषण बढ्नु र यसको रोकथाम गर्नु नेपाल एक्लैको सामर्थ्यबाट सम्भव छैन । अहिले भारतबाट भित्रिएको प्रदूषित हावा र इरानलगायत पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण उत्सर्जन भएको धुलोधुँवाले नेपाली आकाश मैलो बनाएको हो । त्यसैले यसको दीर्घकालीन रोकथामका लागि बहुदेशीय सहकार्य आवश्यक छ । यद्यपि नेपाल आफैँले गर्न सक्ने डढेलो नियन्त्रण तथा सवारी र उद्योगबाट उत्सर्जन हुने धुँवाको न्यूनीकरण, विभिन्न वातावरणसम्बन्धी कानुनको निर्माण र कार्यान्वयनजस्ता अति सामान्य काम पनि गरेको छैन । साथै बस्तीको एक किलोमिटर वरपर बनाउन नपाइने भए पनि काठमाडौँ उपत्यकामा बग्रेल्ती भएका इँटाभट्टा प्रदूषणका अर्को मुख्य कारण हुन् । जसको नियमन गर्न सरकारले चासै दिने गरेको छैन । अर्कोतर्फ, प्रदूषण मापन गर्ने देशभरका ४० मध्ये १९ मेसिन बिग्रिएर थन्किएको छ ।
स्मरणयोग्य कुरा के छ भने नेपालमा वार्षिक ४१ हजार मानिसको ज्यान वायु प्रदूषणकै कारण जाने गरेको छ । यस्तो बेला नागरिक आफैँ सचेत भएर अत्यावश्यकबाहेक घरभित्रै बस्नु र वातावरण प्रदूषण गर्ने क्रियाकलापमा संलग्न नहुनु नै हितकर हुन्छ ।