घुस लिँदै गर्दा अदालतका कर्मचारी अख्तियारद्वारा रंगेहात पक्राउ

चैत्र १७, २०८२ |राजेश्वर पाण्डे
घुस लिँदै गर्दा अदालतका कर्मचारी अख्तियारद्वारा रंगेहात पक्राउ

रौतहट । जिल्ला अदालत रौतहटको एक कर्मचारीलाई अख्तियारको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

जिल्ला अदालत गौरमा कार्यरत रहेका डिठ्ठा लव कुमार सिंहलाई घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेकाे हाे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट डीएसपी राजिव श्रेष्ठको कमान्डामा खटिएका टोलीले सेवाग्राहीसँग ५० हजार नगद घुस लिइसकेको अवस्थामा अदालतका कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार अदालतको फैसलाबमोजिम दर्ता-खारेजी पुर्जी गरी जग्गा फुकुवा गराइदिने नाममा सेवाग्राहीसँग घुस रकम माग गरिएको भने उजुरी आयोगमा पीडितले दिएको थियो  । उजुरीका आधारमा अख्तियारको टोलीले रंगेहात कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको हो।

पक्राउका क्रममा डिठ्ठा सिंहबाट घुस रकम ५० हजार तथा एक थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ। सिंहलाई रौतहटको सदरमुकाम गौरमा रहेको रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।