
काठमाडौं । भदौ २३ र २४ को जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा मंगलबार बिहान पक्राउ पर्नुभएका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हाजिर जमानीमा छाडिएको छ ।
उहाँलाई हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । बानेश्वरस्थित निवासबाट उहाँलाई मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । भदौ २३ र २४ को जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक यसअघि शनिबार पक्राउ परिसक्नुभएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि रिजालविरुद्ध मुलुकी अपराधसंहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो । यसैबीच सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पर्नु्भएका पूर्वमन्त्री दीपक खड्काकी श्रीमती विनिता खड्काको तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।