
काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेस गर्नेसहित संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ ।
फागुन २१ गते निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो । संसद् सचिवालयले यिनै एजेन्डामाथि छलफल गर्न बधुबार सर्वदलीय बैठक बोलाएको छ ।
संसद्को अधिवेशन सुरु हुनुअघि बुधबार संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो । अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भए पनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो ।
उहाँकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेन्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । सभाको पहिलो बैठकले संसद् नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको उहाँको भनाइ छ ।
उहाँले संसद्को पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेस गर्ने र संसद्का प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ । साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरू गर्ने विषय समेत प्राथमिकतामा रहने उहाँले बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
उहाँले सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद् भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको समेत बताउनु भयो । उहाँले सभा हेर्न आउने दर्शक, सञ्चारकर्मीलगायत लागि सहभागि गराउने अवस्था समेत नरहेको बताउनु भयो । प्रतिनिधि सभा नियमावली पारित भएसँगै परामर्श समिति र विषयगत समिति गठनको बाटो खुल्नेछ ।