रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-६ की एक महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भई अस्पतालमा उपचाररत छिन् ।
गोकुलगंगा गाउँपालिका-६ की सर्मिला तामाङ महिला अहिले अस्पतालको बेडबाटै न्यायको याचना गरिरहनुभएको छ। आफ्नै श्रीमानको कुटाइबाट घाइते भएकी रामेछापको गोकुलगंगा गाउँपालिका-६ की शर्मिला तामाङ अस्पतालको बेडबाटै न्यायको याचना गरिरहनुभएको छ ।
रामेछापको तामाकोशी अस्पतालमा उपचार गराइरहेकी तामाङ लामो समयदेखि घरेलु हिंसाको शिकार हुनुभएको छ । २०७० सालमा प्रेम विवाह गरेकी शर्मिलाको केही वर्षदेखि परिवारसँग सम्बन्ध सहज छैन । गर्भावस्थाजस्तो संवेदनशील अवस्थामा समेत आफ्नै श्रीमानबाट हिंसामा परेकी शर्मिला एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।
समाजमा परिवारका सदस्य र अझ श्रीमानबाटै हिंसामा पर्ने महिलाको संख्या ठूलो छ । परिवारको बेवास्ताले शर्मिला आफ्ना १२ वर्षीया छोरी र ७ वर्षीय छोरासहित अस्पतालमै उपचार गराइरहुनभएको छ । उपचारपछि अब कता जाने भन्ने उहाँलाईख चिन्ता लागेको छ ।
श्रीमान र घर परिवारको माया र साथ चाहिने बेलामा उल्टै हिंसा र कुटपिटका कारण उहाँ थप मानसिक तनावमा हुनुहुन्छ। महिलामाथि हुने घरेलु हिंसाको यो घटना नयाँ होइन । समाजमा महिलामाथि हुने अधिकांश हिसाका घटना परिवारका सदस्य र श्रीमानबाटै हुने गरेका छन् ।
महिलाको कमजारीको फाइ उठाउँदै घरू परिवारले नै हिंसा गर्ने र याताना दिने गरेका घटना दिनहुँ बढे पनि प्रहरी र सामाजिक अभियानको पनि खाँचो रहेको छ । पीडित शर्मिलाले दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ । श्रीमानसँग मिलापत्र गराउन यसअघि पटक पटक प्रयास भए पनि उहाँमाथि हिंसाका घटना रोकिएको छैन ।
वडा कार्यालयदेखि माइती नेपालसम्मको पहलमा समेत सहमति र मिलापत्र भएका छन् । बच्चाहरूको भविष्य जोगाउने आशामा शर्मिलाले बारम्बार श्रीमानसँग मिलेर बस्न उहाँ तयार हुनुभयो । तर, हरेक पटकको सहमति अस्थायी सावित भयो । श्रीमानले मिलापत्र र लचिलो हुनुपर्ने शर्मिलाको बाध्यतालाई कमजोरी ठानेर निरन्तर हिंसाको शिकार हुनुपरेको छ ।
पटक-पटकको मिलापत्र र सहमतिपछि पनि हिंसा नरोकिनुले शर्मिला र छोराछोरीको सुरक्षा चुनौती थपिएको शर्मिलाका दाजु भुपाल तामाङको भनाइ छ । शर्मिलामाथि श्रीमानबाट भएको हिंसा कुनै एकल घटना मात्र होइन । यो घटनालाई अधिकारकर्मीहरुले पनि चुनौतीको रुपमा लिएका छन् ।
शर्मिलाका श्रीमान र घर परिवारले हरेक पटक हिंसा दोहोर्याउँदा छोराछोरीको शिक्षादीक्षा लालनपोषणमा चिन्ता भएको उनीहरु बताउँछन् । स्थानीय प्रशासन र प्रहरीको पहलमा पटक पटक भएका सहमतिविपरीत निरन्तर हिंसा भइरहेकाले शर्मिलाका श्रीमानलाइ कानुनी कठघरामा ल्याउनुपर्ने महिला अधिकारकर्मीको भनाइ छ ।
सामाजिक दबाबका कारण महिला हिंसाका अधिकांश घटना प्रहरीकहाँ आइनपुग्दा कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको प्रहरीको भनाइ छ । स्थानीय स्तरमै मिलाउने वा महिलाले आफ्नो र बालबच्चाको भविष्यके चिन्ताले धेरै हिंसाका घटना सहेर मेलमिलापमा टुंग्याउँदा हिँसा नरोकिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म महिलामाथि भएका हिंसाका ५८ वटा घटना दर्ता भएका छन् । पछिल्लो समय रामेछापमा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । हरेक वर्ष लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानदेखि विभिन्न सचेतनामूलक कार्यक्रमका लागि सरकारी र गैरसरकारी संस्थाहरुको लाखौं रुपैयाँ खर्च भइरहेको छ । तर, महिला हिंसाका घटना न्यूनीकरण हुन सकेका छैनन् ।
रामेछापका दुर्गम गाउँदेखि सहरी क्षेत्रसम्म थुप्रै महिलाहरू यस्तै हिंसाको पीडामा बाँचिरहेका छन्। तर, सामाजिक दबाब, लाज-संकोच र आर्थिक निर्भरता जस्ता कारणले यस्ता घटनाहरू प्रायः बाहिर आउँदैनन् र प्रहरीसम्म पुग्ने संख्या निकै न्यून रहने गरेको छ।