एएफसी एसियन कप छनोटमा नेपालको निराशाजनक अन्त्य

चैत्र १७, २०८२ |खेल ब्युरो
एएफसी एसियन कप छनोटमा नेपालको निराशाजनक अन्त्य

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ । 

लाओस नेसनल स्टेडियममा सम्पन्न खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । यससँगै नेपाल छनोट प्रतियोगितामा जितविहीन रहँदै बाहिरिएको छ । मुख्य प्रशिक्षकको रुपमा गुलीएल्मो एरेनाले हारसहित नेपाली फुटबल यात्रा तय गरेका छन् ।

फिफा वरियतामा नेपालभन्दा तल रहे पनि लाओसले प्रभावशाली प्रदर्शन गर्यो । खेलको १०औं मिनेटमा कप्तान बुम्मचम बुम्माथातको प्रहार नेपाली गोल रक्षक किरण चेम्जोङले असफल पारेका थिए । ४०औं मिनेटमा मनिष डाँगीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औं मिनेटमा लाओसले डेडलक तोड्यो । नेपाली डिफेन्सरहरुको गल्तीको फाइदा उठाउँदै कप्तान बुम्मचमले अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यससँगै र लाओसले नेपालविरुद्धको हेड टू हेड अन्तर घटाएको छ । 

दुई टोलीबीच भएका ७ खेलमा नेपालले ४ र लाओसले २ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । गत वर्ष भएको पछिल्लो भेटमा पनि नेपाल २-१ ले पराजित भएको थियो । यसै खेलमार्फत युवराज खड्काले राष्ट्रिय टिमबाट डेब्यु गरे । उनी मुख्य प्रशिक्षक एरेनाको पहिलो रोजाइमा परेका थिए ।

यससँगै नेपालले ६ खेलमा ३ अंकसहित छनोट प्रतियोगिता समाप्त गरेको छ भने लावसले सामान खेलमा ६ अंक जोड्यो । दुवै टोलीको अघिल्लो चरणको सम्भावना यस अघि नै समाप्त भइ सकेको थियो ।