प्रधानमन्त्री कप : पुलिस विजयी, कोशीकाे लगातार चौथो हार

चैत्र १७, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : पुलिस विजयी, कोशीकाे लगातार चौथो हार

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ । 

आफ्नो पाँचौं खेलमा कोशी नेपाल पुलिस क्लबविरुद्ध ६ विकेटले पराजित भएको हो । खराब अवस्थामा रहेको पुलिसका लागि राशिद खान र कप्तान आरिफ शेखले शतकीय साझेदारी गर्दै जित दिलाए । पुलिसका लागि बायाँ हाते स्पिनर दिनेश खरेलले ५ विकेट पुरा गरे ।

जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने वर्षाका कारण एक खेलमा अंक बाँडेको कोशीले जितको खाता खोल्न सकेको छैन । नारायणी क्रिकेट मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको कोशी ४२ ओभर २ बलमा १ सय ६२ रनमा समेटियो । 

ओपनर अंकित सुवेदीले २६ र सुमन श्रेष्ठले ४३ रन बनाए । कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रनको योगदान दिए । शिवाश बजगाईले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि दिनेश खरेलले ७ ओभर ५ बलमा २ मेडनसहित २१ रन खर्च गरेर ५ विकेट लिए । ललित राजवंशी र सागर ढकालको नाममा २-२ विकेट रह्यो ।

१ सय ६३ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पुलिसले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर जित हासिल गर्यो । दिनेश खरेल, अमित श्रेष्ठ, शंकर राना र दिलशाद अलीलाई सस्तैमा गुमाएको पुलिसले खराब सुरुवात गरेको थियो । सुरुवाती ४ विकेट गुमाउँदा मात्र ११ रन जोडेको विभागिय टोलीका लागि राशिद खान र कप्तान आरिफ शेख संकट मोचक बने । 

यो जोडीले अविजित १ सय ५४ रनको साझेदारी गर्यो । राशिदले ९० बलमा ८ चौका र १ छक्कासहित ७३ रनको को अविजित अर्धशतकीय इनिङ्स खेले । आरिफले नटआउट ८१ रनको योगदान दिए । आरिफको अर्धशतकीय इनिङ्समा ११ चौका र १ छक्का सामेल छ ।

कोशीका लागि विपिन महतोले २ विकेट लिए । यो जितसँगै पुलिसले ५ खेलमा ३ जितसहित ७ अंक जोडेको छ । उ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको पनि समान ७ अंक छ । ५ खेलमा जितविहीन कोशी १ अंकसहित तालिकाको पुछारमा छ ।