
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साता पूरा भएको छ।
चैत १३ गते कार्यभार सम्हालेको नयाँ सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकमै शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरी काम थालेको थियो। त्यसयता हरेक दिन प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू कार्यालय समयअगावै मन्त्रालय पुग्ने गरेका छन् ।
जिम्मेवारी सम्हालेयता एक साताको विवरण हेर्ने हो भने प्रधानमन्त्री बालेन्द्र शाह १० देखि ११ बजे भित्र सिंहदरबार पुगेर दिनभर काम गर्नुहुन्छ । गृहमन्त्री सुधन गुरुङपनि कार्यालय समयमै सिंहदरबार प्रवेश गर्नुहुन्छ। अन्य मन्त्रीहरूपनि १० बजेअघि नै मन्त्रालयका काममा लागिसक्ने गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्री तथा कर्मचारीहरू आवश्यकता र परिस्थित हेरेर बिहान, बेलुका र राति पनि कार्यालयकै काममा व्यस्त रहेका छन् । पदबहाली गरेदेखि नै मन्त्रीहरूले मन्त्रालय र मातहत निकायका कामको अध्ययन र अनुगमनमै केन्द्रित भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
गृह प्रशासन सम्बन्धित काम तत्काल सम्बोधन गर्नुपर्ने कामहरू पनि हुन्छन्। विभिन्न व्यक्तिका गुनासा सम्बोधन गर्नेदेखि सरकारले सार्वजनिक गरेको सय बुँदे प्रतिबद्धता अनुसार नै कार्यसम्पादनमा जुटेको प्रवक्ता काफ्लेले बताउनुभयो। कार्ययोजनाको तयारीका लागि बिहान पनि समयमै आएर मन्त्रालयको सबै कर्मचारी खटिएका छन् भने साँझ कार्यचाप अनुसार रातिसम्मै पनि कार्यालयमै रहने प्रवक्ता काफ्लेले बताउनुभयो।