पश्चिम एसिया युद्ध : १५ दिनभित्र नेपाली स्वदेश फर्काउने सरकारको तयारी

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसिया युद्ध : १५ दिनभित्र नेपाली स्वदेश फर्काउने सरकारको तयारी

काठमाडौं । सरकारले पश्चिम एसिया क्षेत्रका खाडी देशहरूमा युद्धका कारण अप्ठेरोमा परेका नेपालीहरूलाई १५ दिनभित्र नेपाल ल्याइसक्ने गरी तयारी गरेको छ ।

पराराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर युद्धका कारण खाडी देशहरूमा समस्यामा परेको तर घर फर्कनका लागि अप्ठारोमा परेकालाई स्वदेश फर्काउने तयारीस्वरूप शुक्रबार राति ११ बजेर १५ मिनेटमा नेपाल एयरलान्सको जहाज यूएई जाने जानकारी दिएको छ । 

यूएईबाट नेपाली लिएर उडान गरेको नेपाल एयरलान्सको जहाज शनिबार अपरान्ह ४ बजे काठमाडौं अवतरण हुने मन्त्रालयको भनाइ छ। त्यसैगरी साउदी अरबियाको दमामबाट फर्कन चाहने नेपाली लिन शनिबार बिहान साढे ८ बजे नेपाल एयरलान्सको जहाज युएई जाने छ भने सोमबार मध्यान्ह १२ बजे काठमाडौं अवतरण हुने मन्त्रालयले जनाएको छ। खाडी देशहरूमा समस्यामा परेका नेपालीलाई १५ दिनभित्र स्वदेश फर्काउने गरी काम समेत गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खाडी मुलुकहरूमा विभिन्न कारण मृत्यु भएका ३८ नेपालीको शव रहेको जनाएको छ । त्यसैगरी विभिन्न कारण प्रकाउ परेर केही नेपाली त्यहाँका कारागारमा पनि रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै यूएई र साउदीबाट करिब ६ सय नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यूएईबाट शनिबार २ सय ७४ जना नेपाली स्वदेश फर्काउने यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कान्तिपुरलाई जानकारी दिनुभयो । यस्तै साउदी अरबको दमामबाट पनि अलपत्र परेका र पहिले नै टिकट लिएका दुई सय भन्दाबढी नेपालीको सूची तयार भएको साउदीस्थित श्रम सहचारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

खाडी देशहरूमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेको भन्दै मन्त्रालयले अत्यवाश्यक परेर घर फर्कन चाहनेको हकमा मात्र सहजीकरण गरेको जनाएको छ। खाडी देशहरूमा रोजगारीका लागि पुगेका सबैभन्दा प्रभावित साना होटलहरूमा रोजगारी गर्ने र निर्माणका क्षेत्रमा काम गरिरहेका नेपाली रहेको पनि मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पत्रकार सम्मेलनमा मन्त्रालयले नयाँ मन्त्री आएसँगै १० वटा कामका प्राथमिकता पनि सार्वजनिक गरेको छ । राहदानी ऐन संशोधन गर्न बनेको विधेयक दर्ता गर्नेदेखि राहदानीका लागि लाग्ने राजस्व दस्तुर अनलाइबाट भुक्तानी गर्नेसम्म रहेको छ। त्यसैगरी वैदेशिक रोजगारीमा गएकादेखि अध्ययन, पर्यटन भिसामा विदेश गएका नेपालीको उद्धार व्यवस्थापन तथा कानुनी सहायताका लागि रेस्क्यु एन्ड रेलिफ फन्ड ६० दिनभित्र गरिसक्ने गरी कामको वर्गीकरण गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.