नयाँ सरकार गठनको गृहकार्यमा जुट्याे रास्वपा

फाल्गुन २५, २०८२ |दशरथ राई
नयाँ सरकार गठनको गृहकार्यमा जुट्याे रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ संख्या जितेसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुटेको छ । 

भावी प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेर निर्वाचनमा भोट मागेको रास्वपाले संसदीय दलको नेता चयन गरेर राष्ट्रपतिसमक्ष नाम दिएसँगै देशले नयाँ प्रधानमन्त्री पाउने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनबाट प्रष्ट बहुमत पाउने भएसँगै सरकार गठनको गृहकार्य सुरु गरेको छ । 

भावी प्रधानमन्त्रीका रूपमा पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेर निर्वाचनमा मत मागेको रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ सिट जितिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि रास्वपाले सबैभन्दा अगाडि रहेको छ । निर्वाचन आयोगले चैत ५ गतेसम्म दुवैतर्फका निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै रास्वपाले सरकार गठनको गृहकार्य तीव्र पारेको हो । 

आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाएसँगै पार्टी संसदीय दलको नेता चयन गर्ने र प्रधानमन्त्रीको नाम सिफारिस गर्ने रास्वपाको तयारी छ। प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले सरकार गठन गर्न प्रष्ट बहुमत ल्याउने भएसँगै संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार बन्नेछ । 

संविधानको मर्मअनुसार बहुमत प्राप्त दलले दलको नेता प्रधानमन्त्रीको रूपमा रष्ट्रपतिसमक्ष सिफारिस गरेपछि संसद् बैठक बस्नुअगावै देशले नयाँ प्रधानमन्त्री पाउनेछ । रास्वपाले २५ सदस्यीय मन्त्रिपरिषद् सदस्यहरूको चयन विभिन्न समूह र विज्ञतालाई हेरेर प्रतिनिधित्व गराउने तयारी गरेको छ । 

अर्थमन्त्री, गृह, परराष्ट्र तथा विकासे मन्त्रालय छनोट विज्ञतालाई हेरेर चयन गर्ने तयारी गरिरहेको छ । रास्वपाले प्रधानमन्त्रीसहितको २५ सदस्यीय मन्त्रिपरिषद् एकैपटक नियुक्त गर्ने तयारी गरिरहेको छ । रास्वपा सभापति रवि लामिछानेले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेलाई तयार रहन भनिसक्नुभएको छ ।

संसदीय निर्वाचनमा २०४८ पछि दोस्रो पटक एकल बहुमतको सरकार बन्न लागेकाले पनि रास्वपाभित्र मन्त्रीका लागि धेरै नेताहरू मन्त्रीको आकांक्षी हुनु स्वभाविक पनि हो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।