ओली-गगनले हार मात्र होइन, असान्दर्भिकता नै स्विकारून् !

फाल्गुन २४, २०८२ |रुपेश श्रेष्ठ
ओली-गगनले हार मात्र होइन, असान्दर्भिकता नै स्विकारून् !

हुन त निर्वाचनमा जित र हार स्वाभाविक प्रक्रिया हो तर हरेक जित र हारका अर्थ एउटै हुँदैनन्। 

कहिलेकाहीँ हार केवल अंकगणितको परिणाम मात्र हुँदैन, त्यसको बहुपक्षीय अर्थ पनि हुन्छ। फागुन २१ को निर्वाचनले दिएको सन्देश त्यस्तै गहिरो छ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले हराएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको 'पेन नेम' हो बालेन। त्यहि नाममा अघिल्लो वर्ष प्रकाशित कविता संग्रहमा एउटा कविता छ -

उत्कर्षमा पुगेर झरेको तारा देखेको छु

हर्षमा अगाडि

शर्तमा लुकेर मरेको सहारा देखेको छु

विशाल मन्दिरमा लडेको मूर्ति देखेको छु

अकाल मङ्सिरमा झरेको घुर्की देखेको छु

अनि हाम्रो त साधारण सासमात्रै

मैले भगवानको मरेको फुर्ती देखेको छु

लोकतन्त्रमा जनता सर्वेसर्वा हुन्। तर हामीकोमा राजनीतिक दल र तिनका नेताहरुले आफूलाई नै निर्णायक ठाने, आफैंलाई उद्धारक माने। फागुन २१ को निर्वाचनको परिणामले खास भगवान अर्थात् नागरिकले दलका भगवान, नेताहरुलाई पाठ सिकाइदिएका छन्।

निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ बहुमतको निकट पुर्‍याएको छ। यसपाली जनमतले २०४६ सालको जनआन्दोलनपछि निरन्तर सत्ताको वरिपरि घुमिरहेका नेकपा एमाले र नेपाली कांग्रेसलाई अस्वीकृत गरेको छ । २०६४ यता सत्ता समीकरणको मुख्य खेलाडी बनेको माओवादी शक्ति त विघटन नै भइसकेको छ। 

कांग्रेस र एमालेको सिंगो नेतृत्व नै पराजित हुँदा मतान्तपर पनि चानचुनै छैन । दुई, तीन मात्रै हैन, चारगुनासम्मको फरक छ। मतपरिणाम सार्वजनिक भइरहँदा कान्तिपुर टेलिभिजनले नै तीन प्रकारका हेडलाइन बनायो । जसले नेपाली राजनीतिको बदलिँदो दिशालाई झल्काइरहेका थिए। एक, देशभर रास्वपालाई सुनामी जनादेश, दुई, झापा–५ मा बालेन्द्र शाहद्वारा एमाले अध्यक्ष केपी ओली भारी मतान्तरले पराजित, र तीन, सर्लाही–४ मा अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई हराए। 

यी शिर्षक र समाचारले पुरानो राजनीतिक संरचनालाई गहिरो प्रश्नको घेरामा उभ्याइदिएका छन्। अब कांग्रेस र एमालेको भविष्य के हो? यो प्रश्न मन-मनमा मात्रै रहेन, जन-जनको बोलीमा छ । हुन त जनताले कुनै दल विशेषको भविष्यबारे चिन्ता गरिरहनुपर्दैन। तर लोकतन्त्र स्थापनामा महत्वपुर्ण भूमिका खेलेका यी दुबै दलको शीर्ष नेतृत्वसहित पदाधिकारी समूह नै निर्वाचनमा पराजित हुनु सामान्य घटना होइन। 

यसले केवल चुनावी हार मात्र होइन, नेतृत्वको सान्दर्भिकता र दलहरूको औचित्यमाथि नै प्रश्न उठाएको छ। यो निर्वाचनले भदौं २३ को जेन-जी आन्दोलनमा बर्वर दमन हुँदा सरकारको नेतृत्व रहेका केपी शर्मा ओली नेतृत्वको एमालेलाई तत्काल उठ्न नसक्ने अवस्थामा पुर्याएको छ । 

उदीयमान पुस्ता र नागरिक असन्तुष्टिलाई एमालेले पछिल्ला वर्षहरूमा बारम्बार उपेक्षा गर्‍यो। “राजनीतिको मियो केपी ओली नै हुन्” भन्ने भाष्यलाई पार्टीभित्र र बाहिर जबर्जस्ती स्थापित गर्ने प्रयास भइरह्यो। जनआकांक्षा सुन्ने र संस्थागत सुधार गर्ने साटो नेतृत्वको महिमामण्डनलाई नै राजनीतिक रणनीति बनाइयो।

पार्टीको विधिमाथि ओलीले आफ्नै लौरो मात्रै चलाइरहे । परिणामत: चुनावले एमाले नेतृत्वको यही प्रवृत्तिलाई कठोर रूपमा अस्वीकार गरेको देखिन्छ। जेन-जी आन्दोलनले सत्तात्युत हुँदा पनि एमालेले त्यो आन्दोलनलाई नै अवहेलना गरिरह्यो। एक बचन क्षमायाचना पनि सुनिएन, देखिएन । 

युवाहरुको आन्दोलन, त्यसमा भएको दमन र ७६ जनाको ज्यान गएकोप्रति सहानुभूतिसम्म देखाउन उहाँले चाहनुभएन। भदौं २३ को जिम्मेवारी लिँदै २४ का घटना र दोषीलाई कारवाहीको पक्षमा उभिनुपर्नेमा जेनजी विद्रोहपछिको निर्वाचनलाई देश जलाउने र बनाउने शक्तिको लडाइँ भनेर मैदानमा उत्रेकाले पनि ओलीले अब आफूले हारेको स्वीकार गर्नैपर्ने अवस्था आएको छ।

अब एमालेसँग एक मात्र बाटो बाँकी छ, ओली नेतृत्व र त्यस वरिपरि स्थापित पुस्तालाई विदा गर्दै पार्टीको पुनर्गठन। अहंकारपूर्ण आदेशका भरमा शासनको अभ्यास गर्दै आएका ओली अब पनि निकासका लागि तयार नभए एमालेले अब उठन् सजिलो छैन ।

कांग्रेसको अवस्था पनि धेरै फरक छैन। जेन–जी आन्दोलनपछि नैतिक जिम्मेवारीको प्रश्न उठ्दै जाँदा पार्टीभित्र नेतृत्व परिवर्तनको माग चर्किएको थियो। गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशनको माग गर्दै अन्ततः शेरबहादुर देउवा युगलाई विदा गर्‍यो। सुधारिएको कांग्रेसको वाचा गरियो। प्रधानमन्त्रीको अनुहार घोषणा गरेर चुनावमा जाने निर्णय पनि गरियो। तर जनताले त्यो वाचामा विश्वास गरेनन्।

चार पटक संसद पुर्‍याएको काठमाडौं–४ छोडेर “कांग्रेसको पकड रहेको क्षेत्र” भन्दै सर्लाही–४ पुगेका सभापति गगन थापा स्वयं पराजित भए। यो केबल गगन थापाको हार होइन, कांग्रेसको सुधार अभियानप्रतिको नागरिक अविश्वास हो, गगनले स्थापना गर्न खोजेको कांग्रेस २.० प्रतिको उदासिनता हो।

अब गगन थापा र उनको नेतृत्व पनि एमालेको नेतृत्वजस्तै नैतिक संकटमा उभिएको छ। थापासँग अब एउटा मात्र बाटो बाँकी छ, नैतिक जिम्मेवारी स्वीकार गर्दै नेतृत्वबाट हट्ने, पार्टीभित्र गहिरो समीक्षा गर्ने र सुधारको नयाँ आधार तयार गर्ने। व्यक्ति होइन, एजेन्डा बलियो हुनुपर्छ भन्ने गगन आफैं पनि त्यो प्रक्रियाबाट बाहिर रहन सक्छन् कि सक्दैनन् ? यो प्रश्न उनको अबको कदमबाट झल्कने छ। किनभने राजनीतिमा व्यक्तिमात्र होइन, संस्थागत अनुहार बलियो चाहिन्छ।

लोकतन्त्रमा चुनाव केवल सरकार बदल्ने प्रक्रिया मात्र होइन, राजनीतिक संस्कार सुधार्ने अवसर पनि हो। यसपटकको जनादेशले स्पष्ट सन्देश दिएको छ, पुराना दलहरूले आफूलाई बदलेनन् भने मतदाताले विकल्प खोज्छन्। जेन-नी आन्दोलनको म्यान्डेट पनि त्यहि थियो। अब कांग्रेस र एमालेले आत्मालोचनाको बाटो रोज्छन् कि पुरानै शैलीमा अडिग रहन्छन्, त्यसले नै उनीहरूको भविष्य निर्धारण गर्नेछ।

दुई तिहाइको बहुमत उन्मुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो जनउभारले उत्साहित बनाउन सक्छ। भलै उसले केही समयका लागि शंकाको सुविधा भने पाउनेछ। उसका आगामी कदमहरुमा जनसमर्थन हुन्छ नै। तर स्वयं भावी प्रधानमन्त्री बालेन्द्र शाहको कवि रुपले लेखेको कविताको अर्थ रास्वपाले नै पनि शिरोधार्य गर्नुपर्नेछ –

अनि हाम्रो त साधारण सासमात्रै

मैले भगवानको मरेको फुर्ती देखेको छु


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।