
काठमाडौं । महिला मतदाताको अनुपातमा कम महिला उम्मेदवार उठाइएको र राजनीतिक दलहरूले महिलालाई बेवास्ता गरेको चर्को आलोचनाकाबीच यो निर्वाचनमा १४ महिलामात्रै निर्वाचित भएका छन्, जुन विगतका निर्वाचनमा भन्दा पनि कम प्रतिशत हो ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २५ महिला उम्मेदवार हुँदा ४ प्रतिशत निर्वाचित भएका थिए भने यसपटक ३ सय ८८ महिला उम्मेदवार हुँदा जम्मा ३ दशमलव ६० प्रतिशतमात्रै निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय महिला दिवस मनाइँरहँदा महिलाको राजनीतिक क्षेत्रमा घट्दो ग्राफले हाम्रो समावेशीकरणको व्यवस्थामाथि नै प्रश्न उठेको छ।
राजनीति लगायत सबै क्षेत्रमा महिला सहभागिता बढाउने चर्चा वर्षौदेखि हुँदै आएको छ । तर पछिल्लो निर्वाचनको तथ्याङकले महिलालाई राजनीतिमा सहभागिता बढाउने भनेर गरिएको गफमा मात्रै सिमित देखिएको छ । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा १२ राजनीतिक दलका तर्फबाट २ सय ३१ र स्वतन्त्र १ सय ५७ ३ सय ८८ महिलामात्रै निर्वाचन मैदानमा थिए ।
३ हजार ४ सय ६ उम्मेदवारमध्ये ११ प्रतिशतमात्रै महिला उम्मेदवार भएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । मतपरिणाममा पनि जम्मा १३ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । यो संख्या अघिल्लो निर्वाचनको भन्दा १ प्रतिशत कम हो ।
जबकि अघिल्लो निर्वाचनमा दलहरूले २ सय २५ जनालाई उम्मेदवार बनाउँदा ९ जना निर्वाचित भएका थिए भने यसपटक ३ सय ८८ उम्मेदवार बनाउँदा ३ दशमलव ६० प्रतिशतमात्र निर्वाचित भएका छन् । एक त महिलाको जनसंख्यालाई प्रतिनिधित्व नै नगर्ने गरी उम्मेदवार बनाउने र बनाएका पनि निर्वाचित नहुने स्थिति दोहोरिएको छ ।
अहिले दुईतिहाइको बहुमत नजिक पुगेको रास्वपाले पनि जम्मा १६ जना महिलालाई उम्मेदवार बनाएको थियो । त्यसैगरी पुराना दलमध्ये नेपाली कांग्रेसले ११, नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले १२ जनालाई उम्मेदवार बनाएका थिए । अहिले निर्वाचित १३ मध्ये १२ जना त रास्वपाका उम्मेदवार हुन् भने १ जना नेपाली कांग्रेसकी हुन् ।
निर्वाचित हुनेमा रास्वपाबाट काठमाडौं १ मा रन्जु न्यौपाने, ललितपुर ३ मा तोसिमा कार्की, झापा १ मा निशा डाँगी, झापा २ मै इन्दिरा रानामगर, मोरङ ५ मा आशा झा, ६ मा रुबिना आचार्य, सप्तरी १ मा पुष्पाकुमारी चौधरी, महोत्तरी ४ मा गौरी कुमारी, सर्लाही १ मा नितिमा भण्डारी (कार्की) र धादिङ १ मा आसिका तामाङ हुनुहुन्छ ।
यस्तै रास्वपाकै सोविता गौतम चितवन ३ बाट र बिना गुरुङ्ग कास्की ३ बाट विजयी हुनुभएको छ। यता दैलेख १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी हुनुभयो । निर्वाचित हुने १३ मध्ये १२ जनाले पुरुष उम्मेदवारलाई हराएका मात्रै होइनन् पुराना दलका राजनीतिक हस्ति मानिएकाहरुलाई नै ठुलो मतान्तरले जित्दै संसद्को यात्रा तय गरेका हुन् ।
चितवन ३ बाट सोविता गौतमले भने नेकपाकी महिला उम्मेदवार रेणु दाहाललाई हराउनुभएको हो । निर्वाचित मध्येपनि सोविता गौतम,निशा डाँगी,तोसिमा कार्की र इन्दिरा राना सांसद दोहोरिएका हुन भने अरु नयाँ हुन् । लोकतन्त्रमा प्रतिनिधित्व केवल संख्यामात्रै होइन अवसरको समानतासंग पनि जोडिएको हुन्छ ।
महिला सशक्तिकरणको सन्देश दिने अन्तराष्ट्रिय महिला दिवसकै दिन सार्वजनिक भएको तथ्याङकले राजनीतिमा महिला उपस्थिति अझै सुदृढ गर्नुपर्ने आवश्यकता स्मरण गराएको छ ।
