
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिका बेला निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मतदान अधिकृतदेखि उम्मेदवारसम्मलाई कारबाही गरेको छ ।
शंकास्पद वस्तु राखेर आतंक फैलाउनेदेखि सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेसम्मका गतिविधि भएपछि सुरक्षा निकायले निगरानीमा कडाइ गरेको छ । मौनअवधिको ४८ घन्टा अवधिमा देशभर शंकास्पद वस्तु राख्ने, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेदेखि विस्फोट गराउनेसम्मका घटना भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा-५ का उम्मेदवार बालेन्द्र शाहलाई शुभकामना दिएको भन्दै एआई भिडियो बनाएर सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट छन् ।
यतिमात्रै नभइ रास्वपाका सहप्रवक्ता रमेश प्रसाइँ एमालेमा प्रवेश गरेको र रास्वपाकै उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको भनेर फैलिएकोमा कान्तिपुरले फ्याक्ट चेक गर्दा दुवै भ्रामक भएको पुष्टि भएका छन् । त्यसैगरी पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चुनावका बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै ललितपुरका दुई छुट्टा-छुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शंकास्पद वस्तु राखेर निर्वाचन प्रभावित गराउने गतिविधि बढेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले निगरानीमा कडाइ गरेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ पञ्चमीमा शंकास्पद वस्तु फेला परेको छ भने उदयपुरको चौदण्डीगढी नगरपालिकाको लाटी खोला पुलमा शंकास्पद वस्तु भेटिएपछि मंगलबार मदन भण्डारी लोकमार्गको सवारी आवागमन नै ठप्प भएको थियो ।
यसैगरी पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरीको गाडीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको पर्सागढी नगरपालिका-३ बडनियारचोकमा चेकजाँचका क्रममा गाडीमा शंकास्पद वस्तु फेला परेपछि चौधरीसहित चार जना प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
मौनअवधिका समयमा पैसासमेत बाँडेर मतदाता प्रभावित पार्ने घटना भइरहेका छन्। मुस्ताङको उपल्लो थली लोघेकर-दामोदरकुण्ड गााउँपालिका-१ चराङ लोमन्थाङतर्फ जाँदै गरेको एक गाडीमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले चेकजाँच गर्दा नेपाली कांग्रेसको झण्डासहित पाँच लाख नगद फेला परेको छ।
लोमान्थाङ गाउँपालिकाका–५ लोमन्थाङका पूर्ववडाध्यक्ष नवाङ कुङगा लामाले चलाएको गाडीमा पाँच लाख नगद फेला परेको छ । यो घटनापछि निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालयलाई नै अख्तियारी दिएको छ । यसैगरी बागलुङको गलकोट नगरपालिका-१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको छ ।
गैरेले मतदान अधिकृतहरूको ह्वाटसएपमा निर्वाचन गतिविधि प्रभावित गर्ने खालका स्ट्याटस लेखेकाले हटाइएको जनाइएको छ।