निर्वाचन सुरक्षाका लागि ७२ घन्टासम्मका लागि नेपाल-भारत सिमानाका बन्द

अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा तयारी मजबुत
फाल्गुन २०, २०८२ |अनिल मिश्र
निर्वाचन सुरक्षाका लागि ७२ घन्टासम्मका लागि नेपाल-भारत सिमानाका बन्द

धुनषा । आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि ७२ घन्टासम्मका लागि नेपाल-भारत सिमानाका बन्द गरिएको छ । 

खुला सीमाका कारण निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा गस्ती समेत तीव्र पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमानाका बन्द गरी एक अर्कोलाई सहयोग गर्ने दुवै देशका सुरक्षा निकायको पुरानै प्रचलन हो ।

भारतसँग जोडिएको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा सम्म मधेश प्रदेशको आठै जिल्लाको ३ सय ६७ किलोमिटर खुला सिमाना छ । खुला सिमाना रहेका कारण दुवै देशमा हुँदै आएको संघ, प्रदेश र स्थानीय निकायको निर्वाचनमा कुनै प्रकारको अप्रिय घटना हुन नदिन एक अर्कोलाई सुरक्षा सहयोग गर्ने सीमावर्ती क्षेत्रका सुरक्षा निकाय बीचको समन्वयको आधारमा ७२ घन्टासम्मका लागि सिमानाका बन्द हँदै आएको हो । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन सुरक्षा निर्देशिका २०८२ अनुसार सीमावर्ती जिल्लाका सुरक्षा अधकिारीहरू बीचको सहमतिमा गएको फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि सिमानाकामा आउजाउ पूर्णरूपमा रोक लगाइएको हो ।

निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्न ७२ घन्टासम्मका लागि यस्तो कदम चालिएको हो । बन्द अवधिमा एम्बुलेन्स, दमकल, शववाहन तथा अन्य अत्यावश्यक मानवीय सेवाबाहेक सबै प्रकारका सवारीसाधन र पैदल यात्रुको आवागमनमा पूर्ण प्रतिबन्ध छ । 

निर्वाचन अवधिभर सीमा सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो । सीमावर्ती क्षेत्रमा रहेका मतदान केन्द्र र मतदान स्थललाई सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरी कुनै प्रकारको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा तयारी छ ।

तेस्रो मुलुकका नागरकिहरूको अनाधीकृत प्रवेश रोक्ने, लागूऔषध ओसारपसार, मानव बेचबखिन र नक्कली मुद्राको कारोबार नियन्त्रण गर्ने, हातहतियारको तस्करी, अवैध नगद ओसारपसार जस्ता सीमा क्षेत्रमा अपराध नियन्त्रणमा सहकार्य गर्दै आएका दुवै देशका सुरक्षा निकायले यतिबेला निर्वाचनमा कुनै प्रकारको घटना हुन नदिन संयुक्त गस्ती समेत बढाएको छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।