मौन अवधिमा अवाञ्छित गतिविधि गर्ने उम्मेदवारहरू पक्राउ

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मौन अवधिमा अवाञ्छित गतिविधि गर्ने उम्मेदवारहरू पक्राउ

सिरहा । मौन अवधिमा अवाञ्छित गतिविधि गर्ने केही उम्मेदवारहरू पक्राउ परेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अशेश्वर यादव पक्राउ पर्नुभएको छ । यादव मौन अवधिका बेला स्राेत नखुलेको नगदसहित पक्राउ पर्नुभएको हो । 

सिरहा सदरमुकामस्थित शिव चोकमा सुरक्षा निकायको संयुक्त चेकजाँचका क्रममा उहाँ सवार रहेको प्र. २-०२-००१ च ०८७ नम्बरको स्कोरपियो गाडीलाई चेकजाँच गर्दा ४ लाख ८७ हजार रूपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

गाडीमा स्राेत नखुलेको नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । 

त्यसैगरी नेकपाका तर्फबाट पर्सा-२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षा जाँचको क्रममा पर्साको बडनिहार क्षेत्रबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । उम्मेदवार चढेको गाडीमा केही शंकास्पद बस्तु भएको शंकाको आधारमा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.