
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबलकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान डाक्टर साइमन र उनको टोलीले न्युजिल्यान्डको अकल्यान्डमा उनको शल्यक्रिया सफलतापूर्वक गरेको जानकारी गराएकी हुन् । पश्चिम एसियाको असहज परिस्थितिका कारण कतार पुग्न कठिन भएपछि एस्पेटार कै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले बताएकी छन् ।
शल्यक्रियापछि रिहृयाब प्रक्रिया बिहीबारदेखि सुरु हुने र हाल न्युजिल्यान्डकै चिकित्सकको निगरानीमा उपचार अघि बढाइने उनले बताएकी छन् । अवस्था सामान्य हुनेबित्तिकै पुनः एस्पेटारमा रिहृयाबलाई निरन्तरता दिने योजना उनको छ ।
साम्बाले कठिन घडीमा साथ दिने वेलिङ्टन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आफ्नो क्लब वेलिङ्टन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको समय मिलाउन ठूलो सहयोग गरेको बताएकी छन् ।
अस्ट्रेलियन ए-लिग फुटबल अन्तर्गत वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बा गत पुसमा ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा गोलरक्षकसाग ठोक्किादा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।
उपचार खर्च जोह गर्न समस्या भएपछि उनले फागुन १४ गते सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपिल गरेकी थिइन् । घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको र अनुमानित ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले उल्लेख गरेकी थिइन् । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोकेकी थिइन् ।