
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरू नेपाल आइपुगेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरूलाई पर्यवेक्षणका लागि आमन्त्रण गरिएको छ । यसका साथै, दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरूको मञ्च (फेम्बोसा) का सदस्य राष्ट्रहरूका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू पनि पर्यवेक्षणमा सहभागी हुँदैछन् ।
नेपालले विगतमा अन्य देशको निर्वाचनमा गरेको अवलोकनको आधारमा उनीहरूलाई आमन्त्रण गरिएको हो । नेपालमा रहेका विभिन्न कुटनैतिक नियोगका प्रतिनिधिहरू र नेपाललाई हेर्नेगरी छिमेकी मुलुकमा रहेका राजदूतहरूलाई पनि पर्यवेक्षणका लागि बोलाइएको छ ।
उहाँहरू नेपाल आइसकेको र पर्यवेक्षणको तयारी गरिरहेको आयोगले जनाएको छ । संस्थागततर्फ आयोगले तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ३९ वटा राष्ट्रिय संस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । सुरूमा चारवटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिइएको भए पनि एउटा संस्थाले आन्तरिक कारणले आउन नसक्ने जानकारी गराएको छ । आयोगले विदेशी पाहुनाहरूको आगमन, बसोबास र व्यवस्थापनमा आवश्यक सहजीकरण गरिरहेको छ ।