मिथिला माध्यमिकी परिक्रमा : १४ दिने पदयात्रापछि श्रद्धालु जनकपुरधाम आइपुगे

फाल्गुन १८, २०८२ |अनिल मिश्र
मिथिला माध्यमिकी परिक्रमा : १४ दिने पदयात्रापछि श्रद्धालु जनकपुरधाम आइपुगे

धनुषा । मिथिलाको धार्मिक आस्थाको धरोहरको रूपमा रहेका मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू १४ दिने पदयात्रा पुरा गरी साेमबार जनकपुरधाम आइपुगेका छन् ।

मिथिला विहारी अर्थात् भगवान रामचन्द्र र किशोरीजी माता जानकीको डोलाको नेतृत्वमा धनुषा, महोत्तरी र भारतीय सिमावर्ती जिल्लाका झन्डै १ सय ३३ किलो मिटरको पदयात्रा पुरा गरी श्रद्धालुहरू जनकपुरधाम आइपुगेका हुन् । 

मिथिला परिक्रमाको अन्तिम विश्राम स्थलका रूपमा रहेका महर्षी विश्वामिन्त्रको तपोस्थल विशौलबाट कल्याणेश्वर महादेबको दर्शन गरी पदयात्रीहरू अन्तिम पडाव स्थल जनकपुरधाम आउने परम्परा रहेको छ । प्रत्येक दुई वर्षमा फागुन अमाव्सयादेखि सुरू हुने यस लामो पदयात्रामा नेपाल र भारतका हजारौं साधुसन्त र गृहस्थ आश्रमका पदयात्रीहरू सहभागी हुने गर्छन् । 

मिथिला परिक्रमका पदयात्रीहरूलाई स्थानिय बासिन्दा र विभिन्न संघ-सस्थाले बिजुली, पण्डाल, खाद्यान, दाउरालगायतका व्यबवस्था मिलाउँदै आएको छ । राम र जानकीसँग जोडिएका रामायणकालीन इतिहास बोकेको स्थलहरूमा पदयात्रीहरू भजन किर्तन, नाचगान, रामलिलालगायत भक्तिभाव पूर्वक राति विश्राम गर्दै आएका छन् । 

परिक्रमा अवधि भरि विश्राम स्थलमा सात्विक भोजन पकाएर मात्र खाने गर्ने चलन छ । मिथिलाका राजा जनकले चार स्थानमन स्थापना गर्नुभएको चारवटा शिवालयलाई आधार मानी धनुषा र महोत्तरीको ११ र भारतीय सीमावर्ती क्षेत्रको ४ स्थानको परिधिभित्रको यो लामो पदयात्रा जनकपुरधामको अन्तरगृह पञ्चकोशी परिक्रमा गरेपछि विधिवत रूपमा समापन हुने छ । 

मिथिलाको महाकुम्भ मानिने यो पदयात्रा समापन भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने चलन रहेको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।