धनुषामा बख्तरबन्द गाडीसहित सेनाको गस्ती

फाल्गुन १७, २०८२ |अनिल मिश्र
धनुषामा बख्तरबन्द गाडीसहित सेनाको गस्ती

धनुषा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन धनुषा जिल्लामा तैनाथ नेपाली सेनाको श्री विष्णुदल गणले सुरक्षा परिचालनलाई तीव्र बनाएको छ। 

निर्वाचन सुरक्षा रणनीतिको एक हिस्सा स्वरूप सेनाले शक्तिशाली बख्तरबन्द गाडीका साथै मोटरसाइकल गस्तीलाई सडकमा उतारेको छ। ठूला सैन्य सवारी साधनले रणनीतिक सडक र प्रमुख चोकहरूमा सुरक्षाको कडा उपस्थिति जनाइरहेको छ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गणले पैदल, सवारी र आधुनिक मेसिनरीको समिश्रण प्रयोग गरेको छ। विशेष गरी बख्तरबन्द सवारीको गस्ती, पैदल, मोटरसाइकल तथा भेहिकल गस्ती र सेनाको उपस्थितिले सम्भावित अवाञ्छित गतिविधि निस्तेज पार्न मद्दत पुगेको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको एकीकृत गस्ती र समन्वयले स्थानिय जनतालाई थप सुरक्षाको प्रत्याभूति दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। कुनै पनि आकस्मिक चुनौतीको सामना गर्न द्रुत प्रतिक्रिया टोलीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी खिलेन्द्रराज आमगाईंले बताउनु भयो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।