कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसार तीव्र छ ।
कञ्चनपुरका तीन क्षेत्रमध्ये कम विकसित मानिने १ नम्बर क्षेत्रमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर प्रचारप्रसारको मैझारो गर्ने क्रममा सकेसम्म धेरै मतदाता माझ पुग्ने प्रयास गरिरहेका छन्।
कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ विकासका दृष्टिले पछाडी परे पनि सम्भावनाको ठूलो क्षेत्र मानिन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा यहाँ चुनावी सरगर्मी तीव्र बनेको हाे । निर्वाचन आयोगका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जसमा विभिन्न राजनीतिक दलका १५ जना तथा स्वतन्त्र ४ जना उम्मेदवार रहनु भएको छ । पूर्व खानेपानी मन्त्री समेत रहनुभएकी बिना मगर नेपाली कम्युनिष्ट पार्टीबाट यस क्षेत्रमा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा निर्वाचित भई मन्त्री बन्नु भएकी मगर संसदीय निर्वाचनमा २०७० र २०७९ मा पराजित हुनुभएको थियो ।
यसपटक अपूरा विकास योजनालाई निरन्तरता दिन र सामाजिक न्याय तथा समावेशितालाई प्राथमिकतामा राख्दै मतदातासँग पुगिरहनु भएको छ । जेन-जी पुस्ताको प्रदर्शनपछि विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ पुनः एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री समेत रहिसक्नुभएका तामाङ २०७९ मा भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ रोजगारी सिर्जना, युवालाई आत्मनिर्भर बनाउने योजना र दिगो विकासलाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानमा हुनुहुन्छ ।
नेपाली कांग्रेसले यस पटक युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाउनु भएका उपाध्याय सामाजिक सेवामार्फत परिचित हुनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउँदै मतदाता भेटघाट गरिरहनु भएको छ ।
नयाँ शक्तिका रूपमा उदाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी उम्मेदवार हुनुहुन्छ । स्वच्छ छविका कारण उहाँको उम्मेदवारीले मतदातामा नयाँ आशा जगाएको छ । सुशासन, पारदर्शीता र उत्तरदायी नेतृत्व उहाँको मुख्य मुद्दा हो ।
यस क्षेत्रमा सीमा अतिक्रमण, भूमिहीन र सुकुम्बासी समस्या, आरक्षपीडित, बाढी तथा डुबान, मानव-वन्यजन्तु द्वन्द्व, अव्यवस्थित बसोबास जस्ता समस्या प्रमुख रूपमा देखिएका छन् । सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, भन्सार नाकाको स्तरोन्नति तथा भौतिक पूर्वाधार विकास नै मतदाताबीच मुख्य बहसका विषय बनेका छन् । सबै उम्मेदवार विकास र समृद्धिको नारा लिएर मैदानमा हुनुहुन्छ ।