
धनुषा । फागुन कृष्णपक्ष औंशीदेखि सुरू भएको मिथिला माध्यमिकी परिक्रमा अझै जारी छ ।
फागु पूर्णिमा दिन सम्पन्न हुने १५ दिने यस धार्मिक पद यात्रामा ठूलो संख्यामा नेपाल र भारतका साधुसन्त र श्रद्धालु भक्तजनहरू सहभागी छन् । मिथिला माध्यमिकी परिक्रमाको क्रममा प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापित शिवालयहरू कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथको परिक्रमा गर्ने परम्परा छ ।
धनुषा, महोत्तरीको १ सय ७ किलोमिटर र भारत बिहारको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर भू-भागको दर्जनौं धार्मिक स्थलको पदयात्रा गरिन्छ । नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको मिथिला माध्यमिकी परिक्रमामा नेपालमा ११ र भारतमा ४ गरी १५ वटा विश्राम स्थल छन् ।
मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको हो । यस क्रममा परम्परागत बाजा, झााकी र कीर्तनसहित मौलिक पहिरनमा लाखौं भक्तजन सहभागी हुन्छन् । परिक्रममा सहभागी श्रद्धालुको सुविधाका लागि पछिल्लो समय सम्बन्धित पालिका तथा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बिजुली, खानेपानी, औषधि र आवासलगायतको व्यवस्था मिलाएका छन् ।
डोला राख्न प्रदेश सरकारले विश्राम स्थलहरू बनाएको छ भने संघ सरकारले परिक्रमा गर्ने सडक कालोपत्रे गरेको छ । सबैभन्दा लामो समय चल्ने मिथिला क्षेत्रको माध्यमिकी परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, भारत बिहारको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै फेरि भारतको करूणा, विसौल र अन्तिम दिन जनकपुरको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुन्छ ।