
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम शाहको अध्यक्षतामा बैठक बसिरहेको हो । कार्यदलमा राजनीतिक दलकातर्फबाट एक एकजना सदस्यहरूको प्रतिनिधित्व रहेको छ । कार्यदलले संविधान संशोधनसम्बन्धी आवश्यक एजेन्डा तय गर्ने संयोजक शाहले जानकारी दिनुभयो ।
उहाँले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताउनु भयो । नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उहाँले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी, निर्वाचन प्रणाली, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारलगायतका विषयमा कार्यदल केन्द्रित हुने जनाइएको छ। मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको थियो ।
संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको कार्यदलका संयोजक शाहको भनाइ छ ।