
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा शनिबार दुई खेल हुँदै छन् ।
पहिलो खेलमा पञ्जाब किङ्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन् । न्यू चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह रंगशालामा खेल दिउँसो पौने ४ बजे सुरु हुने छ । पञ्जाब र हैदराबाद दुवैका लागि यो सिजनको चौथो खेल हो । पञ्जाबले तीनमध्ये दुई खेल जितेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
हैदराबादले तीनमध्ये एक खेल जित्दा दुईमा हार व्यहोरेको छ । दुई टोलीबीच हालसम्म भएका २४ भेटमा हैदराबाद बलियो देखिएको छ । हैदराबादले १७ खेल जित्दा पञ्जाबले सात खेलमात्र जितेको छ । पछिल्ला चार भेटमा पनि हैदराबाद नै विजयी भएको छ ।
पञ्जाबका कूपर कोनोली राम्रो लयमा देखिएका छन् । उनले हालसम्म १०८ रन बनाएका छन् । बलिङतर्फ विजयकुमार वैशाखको प्रदर्शन पनि राम्रो रहेको छ । हैदराबादका हेनरिक क्लासन उत्कृष्ट फर्ममा छन् । उनले पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गर्दै कुल १४५ रन बनाएका छन् । बलिङतर्फ हर्ष दुबे प्रभावशाली देखिएका छन् ।
साँझ पौने ८ बजे चेन्नईस्थित एम. चिदम्बरम रंगशालामा चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स आमनेसामने हुने छन् । चेन्नई यस सिजन कमजोर देखिएको छ र तीनै खेल हारिसकेको छ । टोलीका प्रमुख खेलाडी महेन्द्रसिंह धोनीको अनुपस्थितिले पनि असर परेको देखिन्छ । ब्याटिङ र बलिङ दुवै पक्ष कमजोर देखिएका छन्।
अर्कोतर्फ दिल्ली सन्तुलित टोलीका रूपमा देखिएको छ । उसले दुई खेल जितेको छ भने एक खेल झिनो अन्तरले गुमाएको छ । समीर रिजवीले प्रभावशाली प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन योगदान दिएका छन् ।