निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छ : सांसद झा

चैत्र २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा सम्बाेधन गर्दै झाले निजी क्षेत्रको विकास बिना अर्थतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको हो । सांसद झाले निजी क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेन्ट इकोनोमीले स्थायित्वमा मद्दत पुर्‍याउने बताउनु भयो । 

सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताउनु भयो । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरूमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरूरी रहेको बताउनु भयो ।

कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिइएको बताउनु भयो । उहाँकाअनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । महत्वका साथ उद्यमशीलताले स्थान पाएको उहाँको भनाइ छ ।

वैदिकले देशको आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भूमिका खेल्ने बताउनु भयो । रास्वपाले सय दिने कार्यसूचीमा व्यवसाय दर्ता तथा नविकरणमा सहजीकरण गर्ने प्रतिबद्धता गरेको उल्लेख गर्दै सांसद वैदिकले उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले अब तिरस्कार नगर्ने प्रष्ट पार्नुभयो ।

उहाँले सरकारले गरिरहेका कामहरूको परिणाम आगामी साताबाटै देखिने बताउनु भयो । कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.