सहरीकरणले कृषि विस्थापित हुँदा रूपन्देहीका किसान मौरीपालनतर्फ आकर्षित

चैत्र २८, २०८२ |अमृता अनमोल
सहरीकरणले कृषि विस्थापित हुँदा रूपन्देहीका किसान मौरीपालनतर्फ आकर्षित

बुटवल । सहरीकरण बढ्दै जाँदा रूपन्देहीमा धेरै कृषि व्यवसाय विस्थापित भएको छ । 

यस्तोमा थोरै जमिन हुने बजार आसपासका किसान मौरीपालनलाई व्यावसायिक बनाउन जुटेका छन् । रूपन्देहीको सैनामैना नगरपालिका रामापुरका किसान कविराज अधिकारीको रामापुर श्रीराम मह तथा मौरी स्रोत केन्द्र छ। 

२०५७ सालमा एक घारबाट सुरू भएको मौरीपालन अहिले पाँच सय घारमा विस्तार भएको छ। वार्षिक करिब १० टन मह उत्पादन हुन्छ। बाबु पर्शुरामले सुरु गरेको व्यवसाय अहिले छोरा कविराज अधिकारीले हेर्दै आउनुभएको छ। उहाँले मौरीको मह मात्रै नभइ अन्य सामग्री पनि उत्पादन गर्नुभएको छ।

मौरीपालनका लागि चरण क्षेत्र चाहिन्छ। तर, एकै ठाउँ आफ्नै जमिन नभए पनि हुन्छ । यसैले रूपन्देहीको बजार क्षेत्रका किसान पनि मौरीपालन व्यवसायमा लागेका छन्। बुटवल ११ का आत्माराम सापकोटा पनि त्यसको उदाहरण हुनुहुन्छ। उहाँका अहिले ४० घार मौरी छन्। 

मौसमअनुसार मौरी चराउन विभिन्न ठाउँमा लैजाने भएकाले आफ्नै धेरै जमिन नभए पनि मौरी पाल्न सकिने आत्मरामको अनुभव छ। लुम्बिनी प्रदेशमा हाल सात सयभन्दा बढी मह उत्पादक किसान छन्। उनीहरूले वर्षमा १५ हजार मेट्रिक टन मह उत्पादन गर्छन् । 

उनीहरुले बढीमा पाँच सय प्रतिकिलोमा मह बेच्छन्। मह उत्पादनमा गरेको मिहिनेत र लगानीको अनुपातमा भने यो मूल्य कम रहेको किसानहरूको गुनासो छ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।