लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि

चैत्र २८, २०८२ |अमृता अनमोल
लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि

बुटवल । लुम्बिनी विकास कोषले लुम्बिनीमा पर्यटक सुविधाका लागि अनुदान सहयोगमा ल्याएका विद्युतीय बस लुम्बिनीमा नचलाउने भएको छ । 

पाँचवटा बसमध्ये दुईवटा पोखरा, १/१ वटा धनगढी, सुर्खेत र नेपालगञ्ज लैजाने तयारी भएको हो । कोषले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को मौखिक निर्देशन र पर्यटन नागरिक उड्डयन मन्त्रालयको लिखित निर्देशनमा चैत २० गते पाँचवटा मध्ये दुईवटा विद्युतीय बस सञ्चालन भएका थिए । 

अर्को दिन नै कोषले चलाउन नसक्ने भन्दै पाँचवटै बस नागरिक उड्डयन प्राधिकरणलाई हस्तातरण गरेको बताएर भैरहवाको विमानस्थल प्राङ्गणमा राखिएको थियो । अहिले पनि बस विमानस्थलमै छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी विकास कोषले नचलाए सटल बसका रूपमा चलाउन माग गरे पनि बेवास्ता भएको जनाएको छ । 

विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि नै ती बसहरू माग गरेको भए पनि प्रक्रिया अघि नबढेको जनाएको छ । एक साताअघि ती बसहरू काठमाडौं ल्याउने तयारी भएपछि स्थानीयस्तरमा विरोध चर्किएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि बस पठाउने प्रक्रिया रोकिएको थियो । तर, चैत २० गते लुम्बिनी विकास कोषले पत्रसहित सबै बस भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणलाई बुझाएपछि पुनः अन्योल सिर्जना भएको हो । 

लामो समयदेखि यत्तिकै थन्किएका बसको मर्मतसम्भार चुनौतीपूर्ण बनेको छ । बसका सीसा फुटेका छन्, एसी बिग्रेको छ, टायरहरू पुराना भएका छन् । ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।