काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक कति मत खस्ला ?
मतदान गर्न कति प्रतिशत मतदाता मतदान स्थल र केन्द्रसम्म पुग्लान् । कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा भएको मत सर्वेक्षणले देखाएको छ- अधिकतम ७० प्रतिशत मात्रै । रोचक चाहिँ यो छ- जेन-जी आन्दोलनको जगमा भएको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदाताले ३५ देखि ४५ वर्ष उमेर समूहका उम्मेदवारप्रति रूचि देखाएका छन् ।
११ दशमलव २ प्रतिशत मतदाताले मात्रै ३५ वर्षभन्दा कम उमेर समूहका उम्मेदवारप्रति रूचि देखाए । ४५ जिल्लाका १ सय २ पालिकामा पुगेर कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा गरिएको सर्वेक्षणमा १ सय १६ वडाका २९ सय ५ जना सहभागी छन् ।
त्यसमध्ये ६९ प्रतिशत भन्दा बढी मतदाता चुनावको व्यग्र प्रतीक्षामा देखिएका छन् । भोट हाल्न धेरै नै इच्छुक छन् । तर, मतदाता नामावलीमा नाम भएका करिब ३० प्रतिशत मतदाता भने चुनावभन्दा बाहिर रहन सक्ने स्थिति देखिएको छ । यीमध्ये १४ दशमलव ४ प्रतिशतले मतदान गर्ने चाहनासम्म व्यक्त गरेका छन् । ९ दशमलव ६ प्रतिशतले भने मतदानमा अनिच्छा व्यक्त गरेका छन् ।
कति मतदान भएको थियो त यसअघिका निर्वाचनमा ?
२०७४ को निर्वाचनमा ६७ दशमलव छ-तीन प्रतिशत मतदान हुँदा २०७९ मा ६२ प्रतिशतभन्दा कम मतदान भएको थियो । तथ्यांकले भन्छ- यस पटक २०७९ को निर्वाचनमा भन्दा करिब ७ प्रतिशत बढीले मतदान गर्ने देखिन्छ ।
कुन उमेर समूहका उम्मेदवार छन् रोजाइमा ?
मतदाताको आकर्षण ३५ देखि ४५ वर्ष उमेर समूहका उम्मेदवारप्रति बढी देखिएको छ । ६० प्रतिशतभन्दा बढी मतदाताले ३५ देखि ४५ वर्ष उमेर समूहका उम्मेदवारप्रति रूचि देखाएका छन् । यता ६० वर्षभन्दा माथिका उम्मेदवार मतदाताको रोजाइमा न्यून छन् । १ दशमलव ७ प्रतिशत मतदाताले मात्रै ६० वर्षभन्दा माथिका उम्मेदवारप्रति आफ्नो रूचि प्रकट गरे ।
जेन-जी आन्दोलनको जगमा हुन लागेको निर्वाचन भए पनि मतदाताले ३५ वर्षभन्दा कम उमेरका उम्मेदवारप्रति खासै रूचि देखाएका छैनन्। ११ दशमलव २ प्रतिशत मतदाताले उक्त उमेर समूहका उम्मेदवारप्रति रूचि देखाए । २५ वर्ष उमेर पुगेका-मतदाता नामावलीमा नाम भएका उम्मेदवार बन्न पाउँछन् ।
२८ वर्षसम्म उमेर समूहकालाई जेन-जी भनिन्छ । तर, ३५ वर्षसम्मकालाई अत्यन्तै कम मतदाताले विश्वास गर्नुले ३५ वर्षभन्दा कम उमेर समूहका उम्मेदवार कम मात्रै विजय हुने प्रक्षेपण गर्न सकिन्छ । जबकी १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत छन् भने यो उमेर समूहका उम्मेदवार ३१ प्रतिशत छन् ।
रोचक त के छ भने, सर्वेक्षणमा सहभागी उमेर पुगेका १४ दशमलव ६ प्रतिशतसँग मतदातासँग परिचयपत्र नै छैन । १८ देखि २० वर्ष उमेर समूहका उत्तरदातामध्ये ६४ प्रतिशतसँग मतदाता परिचयपत्र छैन । २१ देखि २९ वर्ष उमेर समूहका २९ प्रतिशतसँग परिचयपत्र छैन ।
सर्वेक्षणमा सहभागी पुरूषभन्दा दोब्बर बढी महिलासँग मतदाता परिचयपत्र नभएको पाइयो । ८ दशमलव ३ प्रतिशत पुरुष र २० दशमलव ७ प्रतिशत महिला उत्तरदाताले आफू मतदाता सूचीमा नरहेको बताए ।