चितवन-१ मा रास्वपाकाे निरन्तरता कि एमाले-कांग्रेसको विरासत फिर्ता ?

फाल्गुन ११, २०८२ |राजु चौधरी
चितवन-१ मा रास्वपाकाे निरन्तरता कि एमाले-कांग्रेसको विरासत फिर्ता ?

चितवन । चितवन क्षेत्र नं. १ लाई नेकपा (एमाले)ले आफ्नो किल्ला मान्दै आइरहेको छ । 

२०६४ सालमा तत्कालीन नेकपा माओवादीको दबदबाका बीचमा पनि एमाले यहाँ चुनाव जित्न सफल भएको थियो । तर, २०७९ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले र कांग्रेसलाई पछि पार्दै जित हासिल गर्यो । यसपटक रास्वपा आफ्नो जितलाई निरन्तरता दिने दाउमा रहँदा एमाले र कांग्रेस भने विरासत फर्काउन कम्मर कसेर लागेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा हेभीवेट उम्मेदवार एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र हालका नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेललाई पराजित गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका केन्द्रीय सदस्य हरि ढकालको चर्चा चुलियो । 

एमालले आफ्नो गढको रूपमा लिएको यो निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएपछि मतदाताले रास्वाबाट निर्वाचित ढकाललाई सधैं निर्वाचन क्षेत्रमा भेट्ने आशा बोकेका थिए । तर, त्यसो नहुँदा मतदाताहरूमा केही निराशा देखिएको थियो । अहिले पुनः यही क्षेत्रमा उम्मेदवार बनेका ढकाल अब पुरै समय आफ्नो निर्वाचन क्षेत्रलाई दिने वाचा गर्नुभएको छ । 

आफू संसद्‌मा बोल्ने मात्र नभइ यस क्षेत्रका विकासमा पनि प्रतिबद्ध रहने भन्दै पुनः जित निकाल्न मतदाता फकाइ रहनुभएको छ । पछिल्लो समय लगातार दुई पटक सुरेन्द्र पाण्डेले निर्वाचन जित्दा २०७९ मा रास्वपाका हरि ढकालले एमालेको गढ भत्काउनुभएको थियो । 

अहिले पुनः एमाले आफ्नो पुरानो लय समात्ने दाउमा छ । यसै क्षेत्रबाट बागमती प्रदेश सभा सदस्य हुँदै बागमतीको मन्त्रीसमेत हुनु भएका दावा दोर्जे लामा चुनावी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा एमाले नै विकास गरेको र एमालेको प्रभाव राम्रो भएकाले यसपटक नतिजा उल्टाउने उहाँको दाबी छ ।

यसअघिको निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस यसपटक नतिजा उल्टाउने दाउमा लागेको छ । कांग्रेसले पुराना नेता राजेन्द्रप्रसाद बुर्लाकोटीलाई पुनः चुनावी मैदानमा उतारेको छ । यसै क्षेत्रमा दुई पटक पराजय भोगेका बुर्लाकोटी यसपटक जनताको विश्वास जित्नेमा ढुक्क हुनुहुन्छ ।

यसपटकको निर्वाचनमा सबै पार्टी एक्लाएक्लै निर्वाचन लडिरहेकाले यस क्षेत्रमा नेकपा पनि चुनावी मैदानमा होमिएको छ । डा.कृष्ण पन्त आफ्नो एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहनु भएको छ । यस निर्वाचन क्षेत्रमा नेपाल उज्यालो पार्टी, श्रमसंस्कृति पार्टीलगायत गरी १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

पूर्वी चितवनका तीनवटा स्थानीय तह समेटिएको यो निर्वाचन क्षेत्र पहाडीदेखि समथर भू-भाग समेटिएको छ । एक लाख ४९ हजार ६ सय २१ जना मतदाता रहेको यो क्षेत्रमा ५६ वटा मतदान स्थल छन् भने १ सय ६८ वटा मतदान केन्द्र रहेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।