
हेटाैंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशको १३ जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि कुल ३३ जना उम्मेदवार निर्वाचित हुनेछन् ।
आसन्न निर्वाचनमा ६ सय २३ पुरूष उम्मेदवार र एकसय आठ महिला उम्मेदवार गरी सातसय ३१ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २ सय ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौंका यी निर्वाचन क्षेत्रमा ४६ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
बागमती प्रदेशकै सबैभन्दा बढी महिला उम्मेदवार निर्वाचनमा सहभागी रहेको जिल्ला काठमाडौं हो । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ १८ जना महिला उम्मेदवार चुनावी मैदानमा छन् । काठमाडौंपछि चितवनमा महिला उम्मेदवारको संख्या बढी छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७ जना उम्मेदवार मध्य नाै जना महिला उम्मेदवार छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका ललितपुरमा ७१ जना उम्मेदवारमा नाै जना महिला छन् । यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ४४ उम्मेदवार मध्य सात महिला छन् ।
एउटा निर्वाचन क्षेत्र रहेको दोलखा र दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा ४-४ जना महिला उम्मेदवार चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । दोलखामा कुल ३३, धादिङमा कुल ४७ उम्मेदवार छन् । दुई-दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चाेकमा र सिन्धुलीमा तीन-तीन जना महिला उम्मेदवार छन् ।
काभ्रोपलाञ्चाेकमा कुल ४२ र सिन्धुलीमा २८ जना उम्मेदवार छन् । एक-एकवटा निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा एक-एक जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एक जना महिला उम्मेदवार सहभागी छन् ।
रसुवामा १२, नुवाकोटमा ३० र रामेछापमा १७ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरी ढकालले बताउनुभयो ।