
धनकुटा । धनकुटामा खटिने ३ सय ३६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन १४ र १५ गते तालिम दिइने भएको छ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सामुदायिक भवन र जिल्ला समन्वय समितिको सभाहलमा तालिम सञ्चालनको तयारी गरेको हो । तालिममा मतदान प्रक्रिया, मतपत्र तथा मतपेटिका व्यवस्थापन, अभिलेख राख्ने तरिका, सम्भावित विवाद समाधान, सुरक्षा सतर्कता तथा मतदानपछिको प्रक्रियालगायत विषय समेटिने जिल्ला निर्वाचन अधिकारी माधवकुमार अधिकारीले बताउनुभयाे ।
तालीम पश्चात फागुन १६ र १७ गते निर्वाचन सामग्री वितरण गरिनेछ। सहायक तथा सहयोगी कर्मचारीलाई सोमबारदेखि नियुक्तिपत्र वितरण गर्ने तयारी गरिएको छ भने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई तालिममा सहभागी भएकै बेला नियुक्तिपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयाे ।
टाढाका मतदान केन्द्रमा खटिने कर्मचारी १७ गते नै सदरमुकामबाट हिड्ने छन्। उनीहरूले आवश्यक सामग्री बुझेर नजिकको प्रहरी चौकीमा सुरक्षित राखी १८ गते सम्बन्धित मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइएको छ। धनकुटामा सुरक्षाकर्मीबाहेक कुल १ हजार २ जना कर्मचारी निर्वाचनमा परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।