
काठमाडौं । फागुन २१ को निर्वाचनमा विदेशबाट मतदान गर्ने व्यवस्थाको माग यसपटक निकै प्रबल बन्यो।
निर्वाचन आयोगले अध्ययन गरिरहेको जवाफ दिएर सरकारले सबैलाई आशावादीसमेत बनायो । तर नतिजा के आयो? विदेशमा रहेका लाखौं नेपालीले आफू बसेकै ठाउँबाट भोट हाल्न नपाउने भएका छन्। युरोप, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकमा रहेका लाखौं नेपाली यसपटक पनि मताधिकारबाट वञ्चित हुँदैछन् । तै पनि, कतिपय नेपाली उत्साहित छन्।
छिमेकी मुलुक भारतमा रहेका केही नेपाली भोट हाल्न स्वदेश फर्किइरहेका छन् । तर त्यहीँकै धेरै नेपालीलाई चुनावकै लागि नेपाल फर्किन सम्भव छैन। महेन्द्रनगरका लोकेन्द्र साउदलाई बेला बेला लाग्छ, परिवारसँग देशमै बस्न पाए कस्तो हुन्थ्यो होला ? तर त्यही परिवारको पालनपोषणका लागि उहाँ सात वर्षदेखि मुम्बईमा संघर्ष गरिरहनुभएको छ ।
चुनावमा भोट हाल्न नेपाल फर्किन मन त छ। तर मुम्बईको पाँचतारे होटलले बिदा दिन्छ कि दिँदैन, भन्न सकिन्न। सुनसरी धरानका बस्नेत उराव मुम्बईकै एक होटलमा चाइनिज सेफ हुनुहुन्छ । नेपालको समाचार सुनिरहने, पढिरहने बस्नेतलाई चुनावले उत्साहित बनाएको छ। तर नेपाल पुग्ने बाटो बन्द छ, होटेलले भोट हाल्न नेपाल फर्किन छुट्टी दिँदैन।
मत हाल्नलाई नेपाल फर्किनु भनेको १२ देखि १६ घन्टाको दैनिक कामबाट हुने कमाइ गुमाउनु हो। हवाई भाडामा एकदेखि दुई महिनाको तलब जान्छ। रेलबाट आउन कम्तिमा साता दिन लाग्छ। धेरैका लागि यो समय, काम र कमाइ जोखिममा राख्नु असम्भव छ। कम आय भएका मात्र होइन, अपोलो अस्पतालजस्ता ठूला संस्थामा कार्यरत नेपालीलाई पनि फर्किनु उत्तिकै कठिन छ।
प्रधानमन्त्रीका दुई जना दाबेदार उम्मेदवार भएको झापाकी ओजस्वी भट्टराईको पनि यही छ अवस्था। केही वर्षदेखि मुम्बईमा रंगकर्ममा व्यस्त ओजस्वीलाई चुनावमा सहभागी हुन मन छ, तर काम छोड्ने अवस्था छैन। संयुक्त राष्ट्र संघ जनसंख्या विभागको तथ्याङ्कअनुसार पनि सबैभन्दा बढी नेपाली भारतमा ६ लाख ६३ हजार जना छन् । तर नेपाल र भारत दुवैसँग यसको यकिन तथ्यांक छैन ।
तथापि, भारत नेपालको रेमिट्यान्स स्रोतमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट मात्रै सवा एक खर्ब रूपैयाँ नेपाल भित्रिएको छ । यसबाट भारतमा रहेका नेपालीको संख्या थोरबहुत अनुमान लगाउन सकिन्छ । र, सकिन्छ, मतदान अधिकार गुमाउने नेपालीको आकलन ।
तर इतिहासदेखि नै नेपालीहरू परिवर्तनप्रति प्रतिबद्ध देखिँदै आएका छन् । त्यसैले होला, प्रवासमा मतदान गर्ने व्यवस्था नभए पनि यतिबेला सीमावर्ती जिल्लाहरूमा मत हाल्न फर्किइरहेका नेपालीको ताँती देखिन्छ । मुम्बईकै फिल्मसिटीमा जुनियर आर्टिस्टका रूपमा १२-१३ वर्षदेखि काम गरिरहेका महेन्द्रनगरका रामसिंह कार्की पनि टिकट काटेर स्वदेश फर्किने दिन गन्दै हुनुहुन्छ।
नेपालमा मर्यादित र राम्रो आम्दानी दिने रोजगारी हुने हो भने सधैंका लागि फर्किन सबैजसो तयार छन्। इच्छा र व्यावहारिकता फरक कुरा हुन्। त्यसैले प्रवासमै बसेर मत दिने अधिकार हुनु सबैभन्दा उत्तम समाधान हो- पर्वतका डा. गौतमको स्पष्ट राय छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, नियमित रूपमा विदेशमा बस्ने नेपालीको संख्या २१ लाख ९० हजारभन्दा बढी छ, जसमध्ये सबैभन्दा ठूलो समूह २०-२४ वर्ष उमेरका साढे पाँच लाख युवा छन्। यसपटक दलहरूले घोषणा पत्रमा ठूला वाचा गरेका छन्, विदेशमा रहेका नेपालीलाई मताधिकार, रेमिट्यान्स पठाउनेका लागि सरकारका तर्फबाट बोनस, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवामा सहुलियत दिलाउने वैदेशिक रोजगार परिचयपत्र, फर्किएका श्रमिकलाई उद्यमी बनाउने योजना। तर मत हाल्न फर्किन पाएका र नपाएका दुवैको एउटै अपेक्षा छ: यो चुनावले राजनीतिक स्थिरता दिलाओस्, र गरिखान पाउने वातावरण बनोस्।